निजगढ, कक्षा कोठामा शिक्षक शिक्षिकाहरुले पढाएको र कालोपाटीमा लेखेको कुरा बुझ्न असहज महशुस गर्ने निजगढ नगरपालिका वडा नम्बर १ नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सिंगौलको कक्षा ३ मा अध्ययनरत आशिक वाइवा यतिबेला त्यस्तो समस्याबाट मुक्त भएका छन ।
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको ‘विद्यालय आँखा जाँच कार्यक्रम’ मार्फत गरिएको शल्यक्रियाबाट आँखाको ज्योति फर्किएपछि वर्षौदेखिको समस्याबाट मुक्त बनेका ११ वर्षिय आशिक अहिले असाध्यै खुसी देखिएका छन ।
‘शल्यक्रियाअघि कक्षा कोठामा शिक्षक शिक्षिकाहरुले पढाएको विषय सहजै बुझ्न सक्दैनथे, समस्याको कारणबारे विद्यालयका शिक्षक र अभिभावक कसैले पनि भेउ पाएका थिएनन, विद्यालयका प्रधानाध्यापक रामवरण यादवले भन्नुभयो, जाँच गर्दा मोतियाविन्दु भएको पत्ता लाग्यो र शल्यक्रियापछि अहिले उनको आँखाको ज्योति फर्किएको छ ।’ प्रधानाध्यापक यादवका अनुसार यसअघि आशिक कक्षा कोठाको कालो पाटीमा लेखिएको कुरा राम्ररी बुझ्न नसकेर नजिकै गएर हेर्ने गथ्र्ये र साथी÷संगीहरुसंग पनि मिलेर राम्ररी खेल्न सक्दैनथ्ये । ‘आँखाको ज्योति फर्किएपछि आशिकको दैनिक व्यवहारमा पनि परिवर्तन देखिएको छ ।’ प्रअ यादवले भन्नुभयो ।
‘विद्यालय आँखा जाँच कार्यक्रम’ मार्फत परीक्षण गर्दा मोतियाविन्दुका कारण आँखाको दृष्टि कमजोर भएको पत्ता लागेपछि निजगढस्थित तिलगंगा अस्पतालमा ल्याएर गत मंगलवार आशिकको अस्पताल र क्योर ब्लाईडनेस प्रोजेक्टको सहयोगमा मोतिविन्दुको शल्यक्रिया गरिएको तिलगंगा आँखा अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालका चिकित्सकहरुका अनुसार बाल्य अवस्थामा हुने मोतियाविन्दुको समयमै निदान र उपचार हुन नसके भविष्यमा दृष्टि झन खराव हुने समस्या उत्पन्न हुनसक्छ ।
शल्यक्रियापछि अस्पतालका चिकित्सकहरुसंग कुरा गर्दै आशिकले आफू अव अरु साथीहरुजस्तै पढन र खेल्न सक्ने भएकाले धेरै खुशी लागेको बताएका थिए ।
उनको आँखाको पट्टी भने बुधवारमात्रै खोलिएको हो ।
सर्लाही परवानीपुर घर भएका आशिकलाई परिवारको कमजोर आर्थिक अवस्थाको कारण बावु बहादुर सिंह र आमा बिनिता गोलेले भिनाजु शुक्र घलानको सहयोगमा अध्ययनको लागि नेरामावि सिंगौलमा भर्ना गरेका हुन ।



