जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।
गत साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट बेपत्ता भएकी गरिमा चौधरी मंगलबार साँझ जीतपुरसिमरा–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ः४५ बजे बालिका खाली घरभित्र मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप अनुसन्धान टोलीसमेत घटनास्थलमा पुगेको थियो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थल तथा आसपासका क्षेत्रमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा मृतक बालिका जीतपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको पहिचान भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिका घरबाट बेपत्ता भएपछि उनलाई जीतपुरसिमरा–२ बस्ने १६ वर्षीय सुमन थापाले चकलेट दिएर ललाईफकाई गरेको र घटनास्थलमा लगेको खुलेको छ। त्यसपछि बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिकका धनी जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। सुमन उक्त म्याजिकका सहचालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको शव भेटिएपछि प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक प्रमाण संकलन गरेको थियो। शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। पोस्टमार्टम तथा अन्य फरेन्सिक परीक्षणबाट घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीयवासीमा त्रास र आक्रोश उत्पन्न भएको छ। घरबाटै बेपत्ता भएकी बालिका तीन दिनपछि नजिकैको खाली घरमा मृत फेला परेपछि स्थानीयले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन।



