निजगढ,        युवा तथा खेलकुद पूर्वमन्त्री एवंम संविधान सभाका सदस्य पुरुषोत्तम पौडेलले हाल देशमा देखिएको सामाजिक र राजनीतिक परिस्थितिले सामाजिक अराजकता उत्पन्न हुने खतरा बढेको बताउनुभएको छ ।

निजगढमा आज आयोजना गरिएको सहिद मुखलाल स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो निजगढ़को सदस्य भेलामा बोल्दै पूर्वमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

‘देश र जनताको हितको निम्ति काम गर्ने चिन्तन नभएका तथा समाजको लागि कुनै योगदान नै नगरेका मानिसहरु हाबी हुन थालेका छन, उहाँले भन्नुभयो, यसबाट अराजकतासंगै सामाजिक फासिवादकोसमेत जन्म हुनसक्छ ।’

पूर्वमन्त्री पौडेलले वर्षौदेखि समाजसेवामा निस्वार्थ भावले समर्पित मानिसहरु उपेक्षित हुनुपर्ने अवस्था आउनु चिन्ताको कुरा भएको पनि बताउनुभयो । समाजमा असल मानिसहरुले हिनतावोध गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उहाँको भनाइ थियो । ‘राम्रा र असल नियत बोकेका मान्छेहरुको पलायन हुनुपर्ने तर कुनै गुण, क्षमता र सोच नै नभएका मानिसहरु रातारात लोकप्रिय बन्ने अवस्थाले समाजलाई भलो गर्दैन ।’ उहाँले भन्नुभयो ।

नेपाली समाजको हालको प्रवृत्ति लामो समयसम्म नटिक्ने पनि उहाँको भनाइ थियो । ‘समाजको लागि गुण र क्षमतासहितको नेतृत्व जरुरी छ, उहाँले भन्नुभयो, जब व्यक्तिको गुण र क्षमताको खोजी हुन थाल्छ, तब हैसियत बिना नै माथि पुगेका मानिसहरु झर्नुपर्ने हुन्छ ।’ उहाँले अब समाजको कोर्श करेक्शन गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । जनताले पनि गुण र दोषको मूल्याङ्कन गरेर असल व्यक्तिलाई मात्रै समाजको नेतृत्व गर्ने जिम्मा दिनुपर्ने उहाँको भनाई थियो ।

साधारणसभामा रेडियो संचालक समितिका संयोजक सुदर्शनप्रसाद कोइरालाले प्रतिष्ठान तथा रेडियोको प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने रेडियो संचालक समितिका सदस्य रुद्र धितालले आय व्याय विवरण पेस गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने, बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरी, सहिद हिरालाल गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष एंव गौरीशंकर कलेज संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, गौरीशंकर कलेजका प्रमुख दिपक श्रेष्ठ, गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झालगायतले साधारणसभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको सो साधारण सभाको संचालन रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय