नेपाल र चीनबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पन्न संयुक्त बैठकमा तातोपानी नाका सहज सञ्चालन, सीमा सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण र सूचना आदानप्रदानलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको छ।

बुधबार चीनको झाङ्मु (खासा)स्थित न्यालाम अध्यागमन निरीक्षण केन्द्रको प्रशासनिक भवनमा सम्पन्न बैठकमा मनसुन सुरु भएसँगै आउन सक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, तातोपानी नाकाको नियमित सञ्चालन तथा सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाउने विषयमा विस्तृत छलफल भएको थियो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाउने सहमति भएको छ। उनका अनुसार बैठकमा सीमा सुरक्षा व्यवस्थापन, विपद् पूर्वतयारी, व्यापार तथा पर्यटन प्रवद्र्धन र दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको थियो।

बैठकमा चीनका तर्फबाट न्यालाम अध्यागमन निरीक्षण केन्द्रका उपकमाण्डर एसपी लिउ हानउ र नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी घिमिरेले आ–आफ्ना धारणा राखेका थिए। छलफलका क्रममा चीनले मित्री पुलमुनि निर्माण गरिरहेको तटबन्ध संरचना, क्षतिग्रस्त सहायक सीमा स्तम्भ तथा सीमा सुरक्षासँग सम्बन्धित अन्य विषयमा पनि विचार–विमर्श भएको थियो।

विशेषगरी चिनियाँ प्रतिनिधिमण्डलले तेस्रो मुलुकका नागरिकहरूको सीमाक्षेत्रमा हुने आवागमनप्रति विशेष चासो व्यक्त गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन नेपाली पक्षसँग आग्रह गरेको थियो।

बैठकमा संयुक्त गस्तीलाई प्रभावकारी बनाउने, सीमा स्तम्भहरूको संरक्षण गर्ने, तस्करी नियन्त्रण, अवैध आवतजावत रोकथाम तथा सीमा सुरक्षा समन्वयलाई थप सुदृढ बनाउने विषयमा सहमति भएको छ। त्यस्तै, प्राकृतिक विपद्का समयमा द्रुत सूचना आदानप्रदान गर्ने संयन्त्रलाई मजबुत बनाउने, प्रारम्भिक चेतावनी प्रणालीमा सहकार्य गर्ने तथा सीमावर्ती क्षेत्रका नागरिकको सुरक्षालाई प्राथमिकता दिने विषयमा पनि साझा समझदारी बनेको छ।

नेपाली पक्षले तातोपानी नाकामार्फत हुने निर्यातलाई प्राथमिकता दिन, कन्टेनर व्यवस्थापनलाई सहज बनाउन तथा विपद्का बेला दुई देशबीचको समन्वय प्रणालीलाई अझ प्रभावकारी बनाउन आग्रह गरेको थियो।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजीकुमार आचार्य, सशस्त्र प्रहरी बलका एसपी हरिकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सुभाष कार्की, अध्यागमन कार्यालय कोदारी, सिन्धुपाल्चोकका प्रमुख पद्मराज तिमल्सिना तथा भन्सार कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

चीनका तर्फबाट न्यालाम अध्यागमन निरीक्षण केन्द्रका कमाण्डर एसएसपी झोउ योङजुन, उपकमाण्डर एसपी लिउ हानउ, डीएसपी दुन झु, सीमा सुरक्षा तथा प्रहरी सहकार्य शाखाका प्रमुखसहित अध्यागमन र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकको क्रममा अध्यागमन कार्यालय कोदारी, सिन्धुपाल्चोकका प्रमुख पद्मराज तिमल्सिनाले चिनियाँ प्रतिनिधिमण्डललाई उनीहरुकै मातृभाषा म्यान्डारिनमा सम्बोधन गरेका थिए। तिमल्सिनाको चिनियाँ भाषामा गरिएको सम्बोधनले बैठकलाई थप आत्मीय र सौहार्दपूर्ण बनाएको सहभागीहरूले बताएका छन। भाषागत सहजताका कारण दुवै पक्षबीचको संवाद अझ प्रभावकारी बनेको र सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा खुला तथा सकारात्मक छलफल गर्न अनुकूल वातावरण सिर्जना भएको थियो।

बैठकपछि अध्यागमन कार्यालय कोदारी, सिन्धुपाल्चोकका प्रमुख पद्मराज तिमल्सिनाले बैठक आपसी सद्भाव, विश्वास र सहकार्यको वातावरणमा सम्पन्न भएको बताए। उनका अनुसार दुवै देशका प्रतिनिधिहरूले एकअर्काको चासो, प्राथमिकता र सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै सीमा व्यवस्थापनका विविध विषयमा गम्भीर र उपलब्धिमूलक छलफल गरेका थिए।

तिमल्सिनाले सीमा सुरक्षालाई थप मजबुत बनाउने, सीमापार हुने अवैध गतिविधि नियन्त्रण गर्ने, तस्करी रोकथाम, संयुक्त गस्तीलाई प्रभावकारी बनाउने, सीमा स्तम्भहरूको संरक्षण तथा विपद्का समयमा द्रुत सूचना आदानप्रदान गर्ने संयन्त्रलाई अझ सुदृढ बनाउने विषयमा साझा समझदारी बनेको जानकारी दिए।

उनले तातोपानी नाकालाई नियमित र सहज रूपमा सञ्चालन गर्ने, व्यापार तथा मालवस्तु ढुवानीलाई थप सहजीकरण गर्ने, कन्टेनर व्यवस्थापन सुधार गर्ने तथा सीमावर्ती क्षेत्रका नागरिकको सुरक्षा र सुविधालाई केन्द्रमा राख्दै आगामी दिनमा पनि दुवै देशबीच निरन्तर समन्वय र सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त भएको बताए।

बैठकमा चिनियाँ पक्षले खासा क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्य तथा न्यालाम–खासा क्षेत्रमा हालै परेको प्रभावका कारण सीमा पूर्वाधार र नाका सञ्चालनमा देखिएका अवस्थाबारे नेपाली पक्षलाई जानकारी गराएको थियो।

(हेर्नुहोस भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय