विश्व रक्तदाता दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित दोस्रो ऐतिहासिक रक्तदान महोत्सव-२०८३ सम्पन्न भएको छ। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाले आयोजना गरेको महोत्सव रगतको अभाव न्यूनीकरण गर्नुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि र उत्प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको हो।

हरेक वर्ष जुन १४ मा मनाइने विश्व रक्तदाता दिवसको सन्दर्भ पारेर आयोजना गरिएको महोत्सवमा बाराबाट उल्लेखनीय रूपमा युवाहरूको सहभागिता रहेको थियो। मानवताको महान अभियानका रूपमा लिइने रक्तदान कार्यक्रमलाई सफल बनाउन बाराका युवा तथा रक्तदाता अभियन्ताहरू भरतपुर पुगेर रक्तदान गरेका थिए।

बाराका सक्रिय सामाजिक अभियन्ता तथा नियमित रक्तदाता खड्गराज मैनालीको पहल र सक्रियतामा रक्तदान महोत्सवमा सहभागी हुन युवाहरूको टोली चितवन पुगेको हो। टोलीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा विद्यासागर ईङ्लिस बोर्डिङ्ग स्कूलले बस उपलब्ध गराएको थियो भने निजगढ नगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकाले इन्धन सहयोग गरेका थिए।

बाराको निजगढबाट रक्तदान महोत्सवमा सहभागी हुन पुगेको टोलीलाई आयोजक संस्था ब्लड डोनर्स सोसाइटी नेपालले विशेष सम्मानका साथ स्वागत गरेको थियो। महोत्सवस्थलमा आयोजित कार्यक्रममा टोलीका सदस्यहरूलाई सम्मानपत्र र खातामाला प्रदान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

ब्लड डोनर्स सोसाइटी नेपालका पदाधिकारीहरूले मानवताको सेवाका लागि लामो दूरी पार गर्दै ठूलो संख्यामा सहभागी भई रक्तदान गरेको भन्दै निजगढका युवाहरूको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले रक्तदान जस्तो पवित्र अभियानमा निजगढबाट देखिएको उत्साह, समर्पण र एकताले देशभरका युवाहरूलाई प्रेरणा दिएको उल्लेख गरे।

विशेष गरी रक्तदानप्रति युवाहरूमा सकारात्मक सन्देश प्रवाह गर्न तथा रगत अभावको समस्यालाई न्यूनीकरण गर्न निजगढबाट भएको उल्लेखनीय सहभागिताले महोत्सवलाई थप भव्य र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ थियो। कार्यक्रममा बोल्दै आयोजकहरूले मानवताका लागि रक्तदान भन्ने भावनालाई व्यवहारमै उतार्दै टाढाबाट समेत सहभागी भई रक्तदान गर्ने निजगढका युवाहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

निजगढका युवाहरूले देखाएको सामाजिक उत्तरदायित्व, सेवाभाव र मानवीय संवेदनाको उच्च उदाहरणले उपस्थित सबैको मन जितेको थियो। यस किसिमको सक्रिय सहभागिताले आगामी दिनमा पनि रक्तदान अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना भएको महोत्सवमा देशभरका रक्तदाता, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महोत्सवले रक्तदानको महत्वबारे जनचेतना फैलाउनुका साथै रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान र्पुयाएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय