निजगढ, वर्षासंगै आज दिउसो परेको चट्याङ्गबाट निजगढ नगरपालिका वडा नम्बर ९ शान्तिटोलस्थित गौरीशंकर सिँचाइ उपभोक्ता समितिले जडान गरेको बोरिङ्गको टन्समिटरसहित उपकरणमा क्षति पुगेको छ ।
उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद बिडारीले दिएको जानकारी अनुसार वर्षसंगै दिउसो ३ बजो परेको चट्याङ्ग लागेर बोरिङ्गमा जडान गरिएको टन्समिटरसहित प्यानल बोर्ड, विद्युत मिटर र वायरिङ्ग जलेर ३ लाखभन्दा बढीको नोक्सानी भएको हो ।
चट्याङ्गबाट प्यानल बोर्ड, विद्युत मिटर र वायरिङ्ग जलेर पूर्णरुपमा नष्ट भएको र टन्समिटरमा पुगेको क्षतिको बारेमा भने अझै यकिन भइनसकेको अध्यक्ष बिडारीले जानकारी दिनुभयो । ‘टन्समिटरमा पनि क्षति पुगेको छ, उहाँले भन्नुभयो, तर प्राविधिकले खोलेर हेरेपछि मात्रै टन्समिटरको क्षति पत्ता लाग्ने छ ।’ आज शनिवार बिदाको दिन परेकाले टन्समिटर खोलेर प्राविधिकबाट जाँच गराउन नसकिएको उहाँको भनाई छ ।
गौरीशंकर सिँचाइ उपभोक्ता समितिमार्फत ०७३ सालबाट संचालन गरिएको सो बोरिङ्गबाट उक्त क्षेत्रका १ सय १४ किसान परिवारले ६० बिघा जमिनमा सिँचाइ सुविधा प्राप्त गर्दैआएका छन ।



