वीरगञ्ज, नेशनल मेडिकल कलेज वीरगञ्ज अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ गुणस्तर प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ ।
अस्पतालले व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणीकरण प्राप्त गरेको हो । आइएसओ ९००१ः२०१५ प्रमाणीकरण अन्तर्गत अस्पतालको चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सेवाहरू समेटिएका छन् ।
यो उपलब्धीले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाई छ ।
आइएसओ व्यवस्थापन प्रणाली क्युएमएस अन्तर्गतको प्रमाणीकरण प्राप्तिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई थप सुदृढ बनाएको अस्पतालले जनाएको छ । वीरगञ्ज महानगरपालिका– १५, भेडियाहीमा अवस्थित नेशनल मेडिकल कलेजले आइएसओ प्रप्तिको लागि निर्धारण गरिएका सबै मापदण्डहरू पूरा गर्दै उक्त प्रमाणीकरण प्राप्त गरेको हो । साथै, निर्धारित अवधिमा अनुगमन र परीक्षणहरु पनि सफलतापूर्वक सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ ।
अस्पताल व्यवस्थापन पक्षले उक्त प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रक्रिया–केन्द्रित तथा सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाई छ ।
आइएसओ प्रमाणीकरण अस्पतालको लागि मात्रै नभएर सेवाग्राहीहरुको लागि पनि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

यसलाई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाणको रुपमा लिदै आगामी दिनमा पनि बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहने पनि जनाइएको ।
अस्पताल नेतृत्वले आइएसओ प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ ।
यस उपलब्धिसँगै नेशनल मेडिकल कलेज तराई क्षेत्रकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ ।



