सिमरा,
पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शक्ति युवा क्लबलाई ३–० ले पराजित गर्दै निजगढले उपाधि उचालेको हो ।
परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औं मिनेटमा निजगढका सन्तबहादुर गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि ५९औं मिनेटमा गुरुङले व्यक्तिगत दोस्रो गोल गरे ।
दुई गोलले पछि परेको आयोजक दबाबमा देखिएको थियो । निर्धारित समयपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा निजगढका सृजन क्षेत्रीले अर्को गोल गर्दै जित फराकिलो पारे ।
उपाधि विजेता निजगढ फुटबल क्लबले दुई लाख र उपविजेताले एक लाख हात पारेको छ । प्रतियोगिताको प्लेयर अफ दि सिरिज शक्ति युवा क्लबका कप्तान सन्दीप यादव घोषित भए । उनले पाँच हजार एक सय हात पारे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक युनेश चौधरी, उत्कृष्ट फरवार्ड विक्रम थोकर, उत्कृष्ट मिडफिल्डर अजित चौधरी र उत्कृष्ट प्रशिक्षक निजगढका सन्तोष गुरुङ घोषित भए । उनीहरूले पनि जनही दुई हजार एक सय रुपैयाँ प्राप्त गरे । फाइनल खेलको प्लेयर अफ दि म्याच सन्तबहादुर गुरुङ घोषित भए ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, वीरगञ्ज महानगपालिका २१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, शक्ति युवा क्लबका अध्यक्ष सुबोध गुप्ता, प्रतियोगिता संयोजक संजय मण्डललगायतले पुरस्कार वितरण गरेका थिए ।



