निजगढ, निजगढ नगरपालिकाका नागरिकहरुमा मोतिबिन्दुको कारणले हुने अन्धोपन निवारण गर्ने अभियान आजबाट शुरु भएको छ ।
निजगढ नगरपालिका र निजगढ तिलगंगा आँखा अस्पतालबीच निजगढलाई शुन्य मोतियाबिन्दु पालिका बनाउने संझौता अनुसार अभियान शुरु भएको हो ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले एक समारोहका बीच वडा नम्बर ११ स्थित रतनपुर स्वास्थ्य चौकीमा अभियानको उद्घाटन गर्नुभएको हो ।
उद्धाटन कार्यक्रममा बोल्दै निजगढ नगरपालिका प्रमुख सुरथ पुरीले निजगढका बासिन्दाहलाई आँखा स्वास्थ्यमा प्रभावकारी सेवा पु¥याउन निजगढ तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा अभियान संचालन गरिएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले निजगढ नगरपालिकालाई मोतियाबिन्दुमुक्त पालिका बनाउन अभियान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यो अवसरको सबैले फाइदा लिन पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले अभियानले सर्वसाधारणको स्वस्थ आँखाको लागि अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गनुृभयो ।
अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले नगरपालिकासंग भएको संझौता अनुरुप अस्पतालले निजगढका सबै वडा र टोलहरुमा पुगेर नगरबासीको आँखा परीक्षण र उपचार गर्ने जानकारी दिनुभयो । उहाँले आफ्नै नगरमा सुविधा सम्पन्न अस्पताल भएकोले आँखामा कुनै पनि समस्या आएमा अस्पतालमा तुरुन्त सम्पर्क गर्न आग्रह गर्नुभयो । निजगढ नगरपालिका सम्पूर्ण वडाहरूमा कार्यक्रम संचालन गरिने भएकोले लाभ लिन बिरामीहरूलाई आग्रह पनि गर्नुभयो ।
आजको कार्यक्रममा मा ६८ जनाको आँखा जाँच भएकोमा ४ जनामा मोतिबिन्दु भेटिएको थियो । मोतिबिन्दुका बिरामीहरुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाइएको छ ।

निजगढ नगरपालिकाको कार्यालयमा गत माघ २० गते भएको संझौताअनुसार निजगढलाई मोतियाबिन्दुका कारण हुने अन्धोपन शुन्य पालिका बनाउन अभियान संचालन गर्ने संझौता भएको थियो । अभियान अन्तर्गत मोतियाबिन्दु पहिचान गर्न नगरपालिकाले तिलगंगा अस्पताललाई वार्षिक २ लाख ८० हजार रकम सहयोग गर्ने र अस्पतालले नगरका सबै नागरिकहरुको निशुल्क आँखा परीक्षण गरेर मोतियाबिन्दुको पहिचान भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने संझौतामा उल्लेख छ ।
संझौतामा नेपाल आँखा कार्यक्रम, तीलगंगा आँखा अस्पतालका वरिष्ठ मानव संसाधन व्यवस्थापक मुकेश सिंह र नगरपाविलकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले हस्ताक्षर गर्नुभएको थियो । ।



