निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलाल निवासी मानबहादुर स्याङतानकी श्रीमती अन्दाजी ५० वर्षीया फुलमाया स्याङतान जङ्गलमा हराएपछि प्रहरी र स्थानीयको सक्रियतामा सकुशल फेला परेकी छन।

वैशाख ७ गते सोमबार दिउँसो करिब ११ः३० बजे फुलमाया स्याङतान बाख्रा चराउन पशुपति सामुदायिक वनतर्फ गएकी थिइन। सोही क्रममा साँझ करिब ५ बजे उनले सँगै रहेका अन्य स्थानीयलाई खाजा खाएर आउँछु भनी छुट्टिएकी थिइन। त्यसपछि उनी घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।

स्थानीयले राति करिब ९ बजे प्रहरी चौकी रतनपुरमा जानकारी गराएपछि तत्काल प्रहरी र स्थानीयवासी मिलेर खोजतलास सुरु गरिएको थियो। तर राति १२ बजेसम्म पनि उनी फेला पर्न सकेकी थिइनन्।

भोलिपल्ट वैशाख ८ गते मंगलबार बिहान इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जिवन लामिछाने सहित १२ जनाको टोली तथा सशस्त्र प्रहरीका करिब ५०–६० जना र स्थानीयवासीहरू समेतको सहभागितामा व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो। खोजीका क्रममा हराएकी महिलाको मोबाइल फोनको अन्तिम लोकेसन वडा नम्बर ११ रतनपुरी क्षेत्रमा राति ११ः३६ बजेसम्म देखिएको र त्यसपछि मोबाइल स्विच अफ भएको पाइएको थियो।

प्रहरीले टेक्निकल विश्लेषण र आसपासका सामुदायिक वन क्षेत्रमा खोजी गर्दै जाँदा अन्ततः निजगढ नगरपालिका वडा नम्बर ११ पश्चिमटोलस्थित प्रतीक्षालय नजिकैको जङ्गलमा फुलमाया स्याङतानलाई सकुशल अवस्थामा फेला पारेको हो।

उद्धारपछि प्रहरीले उनलाई सुरक्षित रूपमा घरसम्म र्पुयाई उनकी २७ वर्षीया छोरी सुष्मा स्याङतानको जिम्मा लगाएको जनाएको छ।

यस घटनाले प्रहरी र स्थानीयबीचको सहकार्यले आपतकालीन अवस्थामा कति प्रभावकारी रूपमा काम गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय