बाराको निजगढ नगरपालिकामा रहेका तीनै तहका सुरक्षा निकायको सक्रिय र समन्वित सुरक्षात्मक रणनीतिका कारण यस वर्षको चाडपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी विपत व्यवस्थापन गण निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले संयुक्त रूपमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गरेका थिए। उक्त योजना अन्तर्गत दशैं, तिहार (लक्ष्मी पूजा) र छठ पर्वका अवसरमा नगरका विभिन्न स्थानहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको थियो।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जिवन लामिछानेका अनुसार सम्भावित घटना नियन्त्रणका लागि विस्तृत रणनीतिक कार्ययोजना तयार गरिएको थियो। उनले भने,‘धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री–वितरण, चोरी, लुटपाट, जुवा–तास, मादक पदार्थ सेवन, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणजस्ता विषयलाई ध्यानमा राखी सुरक्षा योजना कार्यान्वयन गरिएको थियो ।’

उनका अनुसार नगरका संवेदनशील स्थानहरूमा प्रहरी टोलीलाई स्थायी रूपमा तैनाथ गरिएको थियो भने साँझ–बिहानको समयमा पैदल गस्ती पनि बढाइएको थियो। धार्मिक मन्दिर, बजार क्षेत्र, नदी किनारा र भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति नियमित गरिएको थियो।

त्यसैगरी, सशस्त्र प्रहरी विपत व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालले जेनजी आन्दोलनको क्रममा कारागारबाट कैदीबन्दीहरू फरार भएकाले थप सतर्कता अपनाइएको बताए। उनले भने,‘सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी परिचालन गर्दै बिभिन्न क्षेत्रमा निगरानी र नियमित गस्तीलाई थप सुदृढ बनाइएको थियो।’

सशस्त्र प्रहरी टोलीले स्थानीय प्रहरीसँग सहकार्य गर्दै रात्री गस्ती, हुलदंगा नियन्त्रण र आपतकालीन उद्धारका सम्भावित क्षेत्र पहिचान गरी सतर्कता बढाएको थियो।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चाडपर्व अवधिभर हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रु सहजता सुनिश्चित गर्न विशेष अभियान सञ्चालन गरेको थियो। कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले भने,‘योजनाको प्रभावकारी कार्यान्वयनका लागि अतिरिक्त जनशक्ति परिचालन, चेकजाँचमा कडाइ गरिएको थियो।’

उनका अनुसार ट्राफिक प्रहरीले यात्रुहरूलाई पाकेटमार, ठगीजस्ता अपराधबाट सचेत गराउने, स्वास्थ्य मापदण्ड पालना गर्न प्रोत्साहित गर्ने र टिकट तथा भाडासम्बन्धी गुनासो तत्काल समाधान गर्ने काम गरेको छ।

ट्राफिक प्रहरीले बजार क्षेत्रमा सवारी पार्किङ व्यवस्था सुधार, सवारी लाइन व्यवस्थापन र सवारी चेकजाँचमा प्रविधि प्रयोगसमेत गरेको थियो।

संयुक्त सुरक्षा योजनाका कारण निजगढ क्षेत्रमा यस वर्ष कुनै पनि ठूलो घटना नघटेको स्थानियले अनुभुत गरेका छन । चोरी, लुटपाट वा विवादका कुनै गम्भीर घटना नघट्नु नै सुरक्षा निकायहरुको सफलता भएको स्थानियको मूल्याङ्कन छ। स्थानीयवासीहरूले यस वर्षको चाडपर्वलाई सबैभन्दा व्यवस्थित र सुरक्षित रहेको बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय