सूर्यदेवप्रति श्रद्धा र भक्तिभावसहित मनाइने महान पर्व छठ यस वर्ष निजगढमा अत्यन्तै उल्लासपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने यो पर्व मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर विधिपूर्वक सम्पन्न गरिएको हो।

छठ पर्वमा सूर्यदेव र उषा देवीको आराधना गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ। धार्मिक विश्वास अनुसार सूर्यलाई अघ्र्य दिएपछि मनोकामना पूरा हुने र परिवारमा सुख–समृद्धि तथा स्वास्थ्य प्राप्त हुने जनविश्वास रहेको छ।

यस वर्ष निजगढ नगरपालिका–८ खयरघारीस्थित बकैया नदी किनारमा निर्माण गरिएको नवनिर्मित छठ जलाशयमा भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। निजगढ नगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त जलाशयमा हजारौँ श्रद्धालु र ब्रतालुहरूले सहभागी भई अस्ताउँदो र उदाउँदो सूर्यलाई दूध, फूल र जल अर्पण गरेर आराधना गरेका थिए।

छठ पूजा समितिका अध्यक्ष हृदयबाबु रौनियारका अनुसार नयाँ जलाशयको निर्माण र ब्रतालुका लागि पण्डाल, बस्ने व्यवस्था, सुरक्षा र सरसफाइमा यस वर्ष विशेष ध्यान दिइएकाले भक्तजनहरूको सहभागिता विगतका वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको हो।

छठ समापनका अवसरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नं. १ का पूर्वप्रतिनिधि सभा सदस्य अच्युत मैनाली प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बाल्दै उनले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र धार्मिक सहिष्णुताको सन्देश फैलाउने उल्लेख गर्दै यस पर्वले बिस्तारै राष्ट्रिय पर्वको रूप लिँदै गएको बताए। उनले छठ केवल मधेशको पर्व नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा भएको र यसले देशभित्र विविधता र एकताको सन्देश दिएको बताए।

कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सरेश खनाल, स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, ब्रतालुका परिवार र सयौँ सर्वसाधारणहरूको समेत उपस्थिति रहेको थियो।

निजगढ नगरपालिका र छठ पूजा समितिले यस वर्ष छठघाटमा आकर्षक सजावट गरेको थियो। रंगीन बत्ती, फूलका माला र परम्परागत ढाकाबन्नी सजावटका कारण जलाशय परिसर झिलिमिली देखिएको थियो। ब्रतालुका लागि रातभर बस्ने व्यवस्था, बत्तीको निरन्तर आपूर्ति र पानीको सहज पहुँचका लागि नगरपालिका र स्थानीय युवाहरू सक्रिय रहेका थिए। छठघाटमा सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गरिएको थियो भने सरसफाइका लागि नगरपालिकाको सहकार्यमा टोली गठन गरिएको थियो।

यद्यपि, केही श्रद्धालुहरूले जलाशयमा पानीको अभाव भएको गुनासो पनि गरेका छन। समितिका अनुसार सोमवारदेखि नै मोटरमार्फत पानी तानेर जलाशय भर्ने काम गरिएको भए पनि बकैया खोलाको बगरमा पानी सोसिनुका कारण जलाशय पूरा भरिन सकेको थिएन। तर यसले भक्तजनको उत्साहमा कुनै कमी ल्याएन। भक्तजनहरूले पानीको अभावबीच पनि उत्साहपूर्वक पूजा सम्पन्न गरेका थिए।

छठ पर्वमा महिलाहरूले निराहार व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने प्रथा रहँदै आएको छ। यसलाई आस्था, श्रद्धा र पवित्रताको पर्वका रूपमा लिइन्छ। निजगढमा मनाइएको यस वर्षको छठले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको स्थानीयहरूले बताएका छन। निजगढ छठघाटमा देखिएको भक्तजनको उत्साह, महिलाहरूको श्रद्धाभाव र स्थानीय समुदायको सहकार्यले यस वर्षको छठलाई स्मरणीय बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय