निजगढ,
हरितालिका तीज पर्वको अवसरमा नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघले भोलि बुधवार निजगढमा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
निजगढ ८ स्थित निजगढ उद्योग बाणिज्य संघको सभा हलमा महिला संघले कार्यक्रम आयोजना गर्ने भएको हो ।
महिला संघकी निजगढ नगर कमिटी अध्यक्ष शोभा राउतका अनुसार पार्टी र संगठनका कार्यकर्ता र शुभचिन्तक महिलाहरु भेला भएर सामुहिक रुपमा तीज पर्व मनाउन लागिएको हो ।
संघले हरेक वर्ष हरितालिका जीतको अवसरमा कार्यक्रम गर्दैआएको छ ।
त्यसैगरी निजगढ ४ को बागदेवमा ‘तीज विशेष सांस्कृत कार्यक्रम’ हुने भएको छ ।
स्थानीय बाघभैरव युवा क्लव र राष्ट्रिय सांगितकर्मी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा श्री जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा आगामी भदौं १० गते तीज विशेष सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
निजगढ़ नगर कार्यपालिका कार्यालय, वडा नम्बर ४ को कार्यालय र नगरपालिकाको कार्यपालिका लक्षित कोषको आर्थिक सहयोगमा हुने सो कार्यक्रममा बहुप्रतीभाशाली हास्यकलाकार उमेश राई, फुलन्देको आमा, ख्यातिप्राप्त लोकगायिका विन्दा परियारसहित स्थानीय कलाकार बद्री राउत, प्रमिला आले र नवराज राउतले प्रस्तुती दिने आयोजनक क्लबका अध्यक्ष अम्बरबहादुर अधिकारी ‘इश्वर’ ले जानकारी दिनुभयो ।
हरितालिकाको अवसरमा क्लबले हरेक वर्ष बागदेवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुलाई सहभागी गराएर तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दैआएको छ ।



