निजगढ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको तेस्रो मधेस प्रदेश सम्मेलन भोलि शुक्रवार निजगढमा हुनेभएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा सङ्गठनले निजगढमा बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एंव सङ्गठनका मधेस प्रदेश इन्चार्ज किशोर साहले सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य साहले नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले आफ्नो स्थापना कालदेखि नै देशभरिका प्राध्यापक र न्यायप्रेमी जनताको पक्षमा आवाज उठाउदै आएको र नेपाली जनताले संचालन गरेको राजनीतिक हक र अधिकारको लडाइमा अग्रपङ्क्तिमा उभिएको बताउनुभयो ।
देशभरिका प्राध्यापकहरुको आशा र भरोसाको केन्द्रको रुपमा संगठनको रुपमा संगठनमा आवद्ध स्थायी, करार, आंशिक प्राध्यापकहरुको हक, हित, अधिकार, रोजगारी, स्थायित्व, व्यक्तित्व विकास र प्राज्ञिक उन्नयनको लािग भूमिका खेल्दै आएको पनि जानकारी दिनुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन नेकपा एमाले निकट प्राध्यापकहरुको सङ्गठन हो ।
निजगढको राजमार्ग होटेलमा हुने सो सम्मेलनमा मधेस प्रदेशका त्रिविविका आङ्गिक ९, राजर्षि जनक विश्वविद्यालयको १, संस्कृत विश्वविद्यालयको २ र त्रिविविबाट सम्बन्धन प्राप्त ४५ वटा सामुदायिक क्याम्पसका गरी करिव ९० जना प्रतिनिधि प्राध्यापकहरुको सहभागिता रहने सो अवसरमा जानकारी दिइएको थियो ।
सम्मेलनले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको चयन चयन गर्नेछ ।
सम्मेलनको प्रमुख अतिथि पूर्वमन्त्री एंव नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्मेलनमा सङ्गठनका केन्द्रीय अध्यक्ष पद्म खतिवडालगायत पदाधिकारीहरु पनि सहभागी हुनेछन । सम्मेलनका अधिकांश प्रतिनिधि र अतिथिहरु निजगढ आइपुगिसकेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
निजगढको होटल राजमार्गमा भएको पत्रकार सम्मेलनमा सङ्गठनका वरिष्ठ उपाध्यक्ष मनोज बिष्ट, उपाध्यक्ष होम बस्नेत, पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य एकबहादुर श्रेष्ठ, संगठनका सदस्य गोविन्द अधिकारीलगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रदेश समिति सदस्य सागर दाहालले गर्नुभएको थियो ।



