निजगढ,
निजगढ नगरपालिकाले बर्सेनि बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि नदी च्यानेलाइजेसन कार्य अघि बढाउने उद्देश्यले एक्साभेटर भाडामा लिने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले मंगलवार एउटा सूचना निकालेर तोकिएको समयभित्र प्रस्ताव पेश गर्न इच्छुक उपकरण धनी, व्यक्ति वा फर्महरूसंग असार ९ गतेसम्म दररेटसहितको सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गर्नुभएको हो ।

नगर विपद् व्यवस्थापन समितिको निर्णय अनुसार नगरपालिका कार्यालयले एक्साभेटर भाडामा लिन लागेको हो । सम्झौता अधिकतम दुई महिनाको हुने र आवश्यकता अनुसार नगर कार्यपालिकाले सो सम्झौता रद्द वा विस्तार गर्नसक्ने अधिकार सुरक्षित राखेको छ ।

निजगढको बकैया, बगर, भक्तलाल, धन्सार, शक्ति र पसाहलगायतका खोलाहरूमा नदीजन्य पदार्थ थुप्रिएर बर्सातको समयमा नदीले धार परिवर्तन गर्दा मानव बस्ती, खेतियोग्य जमिन, वनजंगल, सडक पूर्वाधार र पूर्वपश्चिम राजमार्गको पुल ड्याममा समेत क्षति हुने अवस्था देखिएपछि नगर विपद् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद् व्यवस्थापन गर्न एक्साभेटर भाडामा लिएर नगरका विभिन्न नदीहरुमा नियन्त्रण र च्यानेलाइजको कार्य सुरु गर्ने निर्णय गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले हस्ताक्षर गरेको सूचनामा प्रस्ताव पेश गर्दा अनिवार्य रुपमा उपकरण धनीको निवेदन, नेपाली नागरिकताको प्रमाणपत्र, सवारी बीमा कागजातको प्रतिलिपि, चालक र सहचालकको व्यवस्था, तलब भत्ता तथा मर्मत खर्च उपकरण धनी आफैले बेहोर्नुपर्ने, कार्यको भुक्तानी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित लगबुकको आधारमा गरिने उल्लेख छ । इन्धन, ग्रिज र मर्मतसम्भारको खर्च पनि उपकरण धनी आफैले व्यहोर्नुपर्ने सो सूचनामा भनिएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले बैठकले शंभावित रोगको संक्रमण नियन्त्रण तथा विपदमा आवश्यक पर्ने औषधि र अन्य उपकरण तथा सामग्री खरिद गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय