बाराको निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को पदाधिकारी चयनको लागि मंगलबार भएको निर्वाचनमा विद्यार्थी संगठनहरुबीच सहमति हुननसक्दा मतगणना कार्य स्थगित भएको छ ।
निर्वाचन समितिले राति १२.३० बजे सूचना निकालेर अर्को सूचना जारी नहुन्जेलसम्मको लागि गणना कार्य स्थगित गरिएको जनाएको हो ।
माउ पार्टीका स्थानीय नेताहरुलाई समेत राखेर मत गणना गर्नुपर्ने नेविसंघ र अखिल क्रान्तिकारीको माग अनेरास्ववियुले अस्वीकार गरेपछि मतगणना कार्य प्रभावित बनेको हो ।
सोही विषयलाई लिएर नेविसंघ समर्थकहरुले राति निर्वाचन समिति र क्याम्पस व्यवस्थापन समितिविरुद्ध राति नाराबाजी समेत गरेका थिए ।
निर्वाचनबाट क्याम्पसमा प्रतक्ष्य र समानुपातिकतर्फबाट एकजना सभापती, उपसभापती, सचिव, सहसचिव, कोषाध्यक्ष र १० जना सदस्य चुनिने छन । निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बालकृष्ण हुमागाई, नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जन र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले उज्जल प्रसाई नेतृत्वको प्यानल मैदानमा उत्रिएका छन ।
बारा जिल्लामा रहेका ७ वटा सामुदायिक क्याम्पस मध्ये निजगढको गौरीशंकर क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको हो ।
यसैबीच निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ । कुल ३६८ जना मतदाता मध्ये ३३४ जनाले मतदान गरेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत गोविन्द अधिकारीले जानकारी दिए । विद्यार्थीहरुको यो सहभागिता उत्साहाजनक रहेको उनको भनाई छ ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनावमा खडा भएका विद्यार्थी संगठनहरुले निजगढ नगरबाहिर रहेका मतदाताहरुलाई समेत झिकाएका थिए । विभिन्न पेसा व्यवसायको क्रममा क्याम्पसमा मतदाता रहेका १ सयभन्दा बढी विद्यार्थीहरु हाल नगरबाहिर रहेको बताइएको छ । बिहान ९ बजेबाट शुरु भएको मतदान दिउसो ४ बजेसम्म चलेको थियो ।



