गुणस्तर तथा नाप तौल विभाग वीरगन्ज र निजगढ नगर उद्योग बाणिज्य संघले आयोजना गरेको उपचकरण चेकजाच कार्यक्रम अन्तरगत निजगढका ६३ जना व्यापारी र व्यवसायीले नापतौलका यन्त्र दर्ता, नवीकरण र परीक्षण गराएका छन ।
निजगढ नगर उद्योग बाणिज्य संघको कार्यालयमा गुणस्तर विभागले बिहिबार र शुक्रबार गरिएको नापतौलका यन्त्र दर्ता, नवीकरण र परीक्षणमा निजगढका व्यापारीले ढक, तराजु र काँटा नाप जाँच गराएका हुन।
नाप तौल उपकरणको गडबडीबाट उपभोक्ताहरुलाई पर्न सक्ने मार्काबाट जोगाउन नापजाच गरिएको विभागका सहायक निरीक्षक सुसान्त चौधरीले जानकारी दिए ।
निजगढ नगर उद्योग बाणिज्य संघले नगरका सबै व्यवसायीलाई आफना नाप जाच उपकरण जाच गराउन सुचना समेत जारी गरेको निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । उनले भने,“निजगढ नगर उद्योग वाणिज्य सङ्घको समन्वय तथा सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय बिरगजबाट खटिएको टोलीले यस क्षेत्रका व्यवसायीको ढक, तराजुलगायत नापतौलको उपकरणको जाँच एवम् प्रमाणीकरण गरेको हो ।”
व्यवसायीले व्यवसाय सञ्चालन गर्दैगर्दा नापतौलका लागि प्रयोग हुने ढक, काँटा, तराजु तथा मिटरजस्ता उपकरण खरिद गरेको बिलसहित ३५ दिनभित्र गुणस्तर तथा नापतौल कार्यालयबाट सञ्चालन अनुमति लिनुपर्ने र आवधिक रुपमा त्यसको जाँचपास गराउनुपर्ने साथै डिजिटल काँटा प्रयोग गर्नेले काँटाको क्षमताको १० प्रतिशत ढक सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था छ ।
निजगढमा नापतौलका उपकरणको जाँचपास गराउन पाउँदा स्थानीय व्यवसायी खुशी भएका छन् । स्थानीयस्तरमा नै आफ्ना नापतौलका उपकरणको जाँचपास गराउन पाएपछि व्यवसायीको खर्च बचत भएको छ ।



