प्रवासी कामदारलाई जन्मथलो फर्कन सहज गराउन भारतले ट्रेन सेवा सञ्चालनमा ल्याएको छ। मंगलबारबाट भारतीय रेल्वेले केही स्थानमा रेल्वे सुविधा सुरु गरेको हो। उसले आरोग्य सेतु नामक एप डाउनलोड गरेर यात्रा गर्न सक्ने सुविधा दिएको छ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार ५४ हजार बढी यात्रुले यात्राका लागि टिकट बुक गरिसकेका छन्। १५ वटा ट्रेनका लागि भारतीय रेल्वेले सोमबार बुकिङ् खुल्ला गरेको थियो। ती ट्रेनहरु प्रवासी मजदुरहरु भएका मुम्बई, चेन्नई, कलकत्तालगायतका सहर केन्द्रित गरिएको छ।
भारतले तेस्रो पटक लकडाउनको अवधी बढाएपछि मे १७ सम्मका लागि सबै रेल्वे सेवाहरु बन्द गरेको थियो। सबै यातायात बन्द भएपछि कामका लागि विभिन्न सहर पुगेका भारतीय मजदुरहरुले नै रेल्वे सेवा खुल्ला गर्न दबाब दिँदै आएका थिए।
लकडाउन लगाइए पनि समय लम्बिँदै गएपछि कामदारहरु आफ्नो घर पैदलै फर्कन थालेका थिए। मुम्बईमा त मजदुरहरुले आन्दोलनै गरेर रेल्वे सेवा सुरु गर्न दबाब दिएका थिए।
नेपालमा जोखिम
भारतमा रेल्वे सेवा खुल्दा त्यसको असर नेपालमा कोरोना संक्रमण रोक्न अपनाइएको विधिमा प्रत्यक्ष असर पर्नेछ। अहिले भारत सरकारसँग मिलेर नेपालले यता रहेका भारतीय नागरिकलाई नेपालमै राख्ने र भारतको सीमामा आइपुगेका नेपालीलाई उतै राख्ने नीति अपनाएको थियो।
यति गर्दा पनि अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने नेपालीलाई पूर्णरुपमा रोक्न नसक्दा चोर बाटोबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ। भारतमा रेल्वे सेवा खुलेपछि अलपत्र परेका नेपाली स्वदेश फर्कन सीमामा आउने क्रम बढ्नेछ। सरकारले अहिलेसम्म विदेशबाट फर्किने नेपालीको संख्या बढे के गर्ने भन्ने नीति समेत बनाउन सकेको छैन।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा दिएको जानकारीअनुसार भारतमा मात्रै २ लाख ५० हजार स्वदेश फर्कने प्रतिक्षामा छन्।
उनले बैठकमा भारतले रेल्वे सेवा सुरु गरे विभिन्न सहरमा रहेका नेपाली नेपालको सीमामा आइपुग्ने र उनीहरुको व्यवस्थापन जोखिमपूर्ण हुने बताएका थिए। उनले बैठकमा भारतले रेल्वे सेवा सञ्चालन गरेमा नेपालमा उलटफेर नै ल्याइदिने बताएका थिए।