बाराको काल्हवी नगरपालिका–२ अन्तर्गत तामागढीभन्दा करिब २ किलोमिटर दक्षिण ५ नम्बर घोलस्थित तामागढी–सिम्रौनगढ सडक खण्डमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रीमान–श्रीमती घाइते भएका छन।
बिहीबार बिहान करिब १०ः२५ बजे कोल्हवीबाट तामागढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क ४१२२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०३–१३ प ८६७८ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटी चालक बारा कोल्हवी नगरपालिका–१० बछनपुर्वा टोल निवासी करिब २५ वर्षीय आलोक चौधरी घाइते भएका छन। उनको दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। स्कुटीमा पछाडि सवार उनकी श्रीमती करिब २४ वर्षीया मिना कुमारी चौधरीको दाहिने खुट्टाको घुँडा, पैतालामा गम्भीर चोट लाग्नुका साथै टाउकोमा समेत चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि सिटी अस्पताल, निजगढ लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल, वीरगञ्ज रिफर गरिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक सवारीसहित फरार भएका थिए। खोजतलासका क्रममा पिलुवाबाट ट्रक फेला पारिएको थियो।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईको नेतृत्वमा खटिएको संयुक्त टोलीले ठक्कर दिएर फरार भएको ट्रकलाई निजगढ–पथलैया सडक खण्डबाट नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले ट्रक चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–१ निवासी करिब २१ वर्षीय नौसाद आलम चुडियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोल्हवी पठाएको जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र स्कुटी दुवै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका छन।



