गोकुल घोरसाइने
निजगढ, ३ दिनदेखि लगातारको वर्षापछि बकैया खोलामा आएको बाढीले निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग र निजगढस्थित आर्यघाट क्षेत्रलाई जोखिममा पारेको छ ।
आज बिहान आएको बाढीले राजमार्गको बकैया पुलदेखि पश्चिमोत्तर र पुलबाट दक्षिण पूर्वतर्फको ड्याममा कटान बढाएपछि एकैपटक दुबै क्षेत्रमा जोखिम उत्पन्न भएको हो ।
बाढीले राजमार्ग सुरक्षाको लागि पुलबाट पश्मिोत्तर क्षेत्रमा निर्माण भएको तटबन्ध र बस्ति सुरक्षाको लागि दक्षिण÷पुर्वी भागको निजगढ ९ मा निर्माण गरिएको ड्याममा कटान तीव्र पारेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार बाढीले राजमार्ग निर्माणकै बेलामा निर्माण भएको पुलबाट करिव ४ सय मिटर उत्तरतर्फको पुरानो तटबन्धमा कटान बढाएपछि राजमार्गमा जोखिम बढेको हो ।
हाल उक्त स्थानको करिव २ सय मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको तटबन्ध बाढी कटानमा परेका र अब २ मिटरभन्दा कम चौडाइको बाँध मात्र बाँकी रहेको छ ।
बाढीले कटान जारी राखेकाले तत्काल प्रभावकारी नियन्त्रणको पहल हुन नसके पूर्वपश्चिम राजमार्गसहित जिल्ला ट्राफिक कार्यालय बाराको कार्यालय तथा निर्माणाधिन निजगढ– काठमाण्डौं द्रुतमार्गको जिरो प्वाइन्टमा पनि जोखिम उत्पन्न हुने निरीक्षक अधिकारीको भनाइ छ ।
त्यसैगरी बाढीले राजमार्गको बकैया पुलबाट दक्षिणतर्फको पूर्वी क्षेत्रमा पनि कटान जारी राखेको छ । बाढीले निजगढ ९ को आर्यघाटबाट दक्षिणतर्फको क्षेत्रमा कटान गरेको हो । नदी कटानले उक्त क्षेत्रमा रहेका क्रसर उद्योग, सहिद हिरालाल रंगशाला, वाक्यश्वर महादेव मन्दिर र आवादी क्षेत्रमा जोखिम बढाएको छ ।
गत हप्ता आएको बाढीले निजगढ नगरपालिका कार्यालयले निर्माण थालेको च्यानलाइज ड्याम बगाएपछि आजको बाढीले सो क्षेत्रमा थप कटान गरेको हो । नगरपालिका कार्यालयले बकैया खोलाको धार पश्चिमतर्फ फर्काएर कटान नियन्त्रण गर्ने योजना अनुसार पुलबाट दक्षिणतर्फ निर्माण सुरु गरेको च्यानलाइज ड्याम अघिल्लो आइतवार आएको बाढीले बगाएको थियो । बाढीले निर्माणाधिन अवस्थाको करिब ३ सय मिटर ड्याम बगाएको निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो ।
नगरपालिकाले च्यानलाइज ड्याम फेरि निमार्ण सुरु गर्ने तयारी गरिरहेकै अवस्थामा बाढीले आवादी क्षेत्रतर्फ कटान बढाएको हो ।
यसैबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीसहित बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र नेपाली सेनाको विकास निर्माण कार्यदलका मेजर मधुसुदन विष्टको टोलीले आज बकैया बाढी र नदी कटान क्षेत्रको निरीक्षण गरेको छ । सो क्रममा प्रजिअ मिश्रले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा सुरक्षा सतर्कताको लागि काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो ।
निरीक्षण टोलीमा वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, निजगढ गाविसका तत्कालिन गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस निजगढका प्रहरी नायब उपरीक्षक मुरारीप्रसाद अधिकारीलगायत सहभागी रहेका थिए ।



