बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले बारा सहित मधेश प्रदेशका आठवटै जिल्लामा बुधबारदेखि एकसाथ ट्राफिक जनचेतनामूलक सप्ताह-२०८३ सुरु गरिएको छ।

ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट बचौं, आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने मूल नारासहित सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा जिल्लामा सप्ताहको उद्घाटन कलैयामा भव्य प्रभातफेरी कार्यक्रममार्फत गरिएको थियो। कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, यातायात व्यवसायी, विभिन्न संघसंस्था, विद्यार्थी तथा सर्वसाधारण गरी ५ सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साह, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक मिन बहादुर घले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक नवराज न्यौपाने, रिपुमर्दन गण ब्रहम्पुरी ब्यारेक बाराका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका अनुसन्धान उपनिर्देशक सरोज निरौला, यातायात व्यवस्था कार्यालय बाराका प्रमुख चिन्तन आचार्य, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर तथा नं. ४० रिजर्भ गण हेडक्वार्टर पिलुवाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बारा जिल्लामा मात्र १ हजार १ सय १४ वटा सवारी दुर्घटना भएका छन। ती दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने १ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनाको बढ्दो दरलाई नियन्त्रण गर्न जनचेतनामूलक अभियान अपरिहार्य भएकाले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत विद्यालय, कलेज, टोल विकास संस्था, सार्वजनिक स्थल तथा समुदायस्तरमा पुगेर ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। साथै सार्वजनिक तथा निजी सवारी चालक, सहचालक तथा यातायात व्यवसायीहरूलाई सुरक्षित सवारी सञ्चालन, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायतका विषयमा प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरिनेछ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार सवारी दुर्घटना मानवीय, यान्त्रिक, वातावरणीय तथा सडकको अवस्थाजस्ता विभिन्न कारणले हुने भए पनि ८० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेका छन। लापरवाही, असावधानी, हेलचेक्र्याइँ, तीव्र गति, मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउनु, सवारी चालक अनुमति पत्रबिना सवारी सञ्चालन गर्नु, हेल्मेट तथा सिटबेल्टको प्रयोग नगर्नु, क्षमताभन्दा बढी यात्रु बोक्नु, सडक पेटी तथा सडक क्षेत्रमा निर्माण सामग्री राख्नु, चौपाया छाडा छोड्नु तथा सडकहरूको समयमै मर्मत सम्भार नहुनु दुर्घटनाका प्रमुख कारणका रूपमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले बताए।

कार्यालयका अनुसार नेपालको समग्र तथ्यांक हेर्दा दैनिक औसत सात जनाले सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गुमाउने गरेका छन। मधेश प्रदेशमा पनि पछिल्लो समय दुर्घटनाको संख्या बढ्दै गएको देखिएकाले जनचेतना अभिवृद्धिसँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र निगरानीलाई थप कडाइ गरिने बताइएको छ।

सप्ताहव्यापी अभियानअन्तर्गत ट्राफिक सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया, चालक प्रशिक्षण, सडक सुरक्षा सम्बन्धी प्रचारप्रसार तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। यस अभियानले सर्वसाधारणमा ट्राफिक नियमप्रतिको जिम्मेवारी बोध गराई सुरक्षित सडक र जिम्मेवार सवारी संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय