निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले मंगलबार सामाजिक परीक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अस्पतालले सञ्चालन गर्दै आएका सेवा, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउनुका साथै सहभागीहरूबाट राय–सुझाव संकलन गरिएको थियो।
कार्यक्रममा एएमएमइ अधिकृत आलोक खनालले अस्पतालबाट प्रदान भइरहेका उपचार सेवा, समुदायमा आधारित स्वास्थ्य कार्यक्रम तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए। उनले अस्पतालले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सेवालाई अझ प्रभावकारी बनाउन सुझाव संकलन गरिएको बताए।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, अस्पताल प्रमुख विष्णुहरी मरहठ्ठा, प्रशासन प्रमुख सुधिर श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष रामचन्द्र कटुवाल, निजगढ रेडक्रस सोसाइटीका पूर्व सभापति नारायण शर्मा उप्रेती, रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइने तथा समाजसेवी आषिश लामालगायतले अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारका विषयमा सुझाव दिएका थिए।
सहभागीहरूले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरेर थप स्वास्थ्य शिविर सञ्चालन गर्न, सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन तथा जनचेतनामूलक कार्यक्रमलाई विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा फेड हेल्लोवज फाउण्डेशनकी कन्ट्री डाइरेक्टर एन्जिला दाहालसहित स्थानीय सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



