निजगढ नगर उद्योग वाणिज्य संघले व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहन र राहत प्रदान गर्ने उद्देश्यसहित नयाँ दर्ता तथा सदस्यता नविकरणमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको छ। हाल देशभर देखिएको आर्थिक मन्दी, राजनीतिक अस्थिरता र विभिन्न अवरोधका कारण स्थानीय व्यवसायहरू प्रभावित भइरहेको पृष्ठभूमिमा संघले राहत घोषणा गरेको हो।
संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले देशको पछिल्लो परिस्थितिले विशेषगरी साना तथा मध्यम स्तरका व्यवसायहरू झनै समस्यामा परेको बताउँदै, यस्तो अवस्थामा व्यापारीहरूको बोझ कम होस् भन्ने हेतुले दर्ता तथा नविकरण शुल्कमा छुट दिने निर्णय गरिएको जानकारी दिए। उनले भने,‘व्यवसायीहरू निरन्तर दबाबमा छन् संघले गरेको यो कदमले थोरै भए पनि मनोबल बढाउने र व्यवसायलाई सहज बनाउने अपेक्षा गरेका छौँ।’
अध्यक्ष श्रेष्ठका अनुसार आगामी पुस मसान्त भित्र संघमा नयाँ सदस्य बनेर आबद्ध हुन चाहने व्यापारीहरूले दर्ता शुल्कमा आधा छुट पाउनेछन् भने संघमा पहिलेदेखि आवद्ध सदस्यहरूले वार्षिक नविकरणमा पनि त्यत्तिकै छुट प्राप्त गर्नेछन।
मंगलबार बसेको संघको वैठकले अहिले व्यवसायीहरू बजार घटेको, पूँजी अभाव, कर–करारका चुनौती तथा आयात–निर्यातमा दबाबजस्ता समस्याले मारमा परेको निष्कर्ष निकालेको थियो। त्यसैले तत्काल राहतस्वरूप दर्ता तथा नविकरणलाई नै सहज बनाउने निर्णय गरिनु आवश्यक ठानिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
संघका पदाधिकारीहरूको भनाइमा हालको चुनौतीपूर्ण आर्थिक अवस्थामा संघले स्थानीय व्यवसाय पुनर्जीवनमा योगदान र्पुयाउने उद्देश्य राखेको छ। दर्ता तथा नविकरणमा छुट दिएको घोषणा व्यवसायीहरूसँग प्रत्यक्ष सम्बद्ध भएकाले सकारात्मक रूपमा लिइने अपेक्षा गरिएको छ।
संघले व्यवसायीहरूलाई यो सुविधाको अधिकतम उपयोग गर्न आह्वान गर्दै आगामी दिनमा पनि व्यापारी मैत्री कार्यक्रम ल्याइने बताएको छ।



