गोकुल घोरसाइने

निजगढ,  डिभिजन वन कार्यालय बाराले निजगढ ८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा गर्न दोस्रो पटक ताकेता गरेको छ ।

समूहको कार्यसमितिका पदाधिकारीहरुको कार्यकाल समाप्त भएको लामो समय बितिसक्दा पनि नयाँ कार्यसमिति चयन हुन नसकेपछि डिभिजनल वन कार्यालयका प्रमुख राजीवकुमार झाले पत्र पठाएर मंसिर मसान्तभित्र साधारणसभा आयोजना गरेर समिति गठन गर्न समूहलाई ताकेता गर्नुभएको हो ।
कार्यालयले यसअघि भदौं २ गते पत्र पठाएर सोही महिनाको मसान्तभित्र साधारण सभा सम्पन्न गर्न समूहलाई आग्रह गरेकोे थियो ।
कार्यालयले यसअघि नयाँ कार्यसमिति चयन गर्न गठन भएको निर्वाचन समिति निष्कृय भएको जानकारी गराउँदै समूहको कार्य संचालनको लागि पनि बाटो खोलेको छ । कार्यालयले अगुवा उपभोक्ताहरुको भेला गराएर अर्को निर्वाचन मण्डल गठन गर्न र पुरानो समितिमार्फत नै समूहको लेखा परीक्षण गर्न भनेको छ ।

‘समूहको कार्यसमितिका पदाधिकारी चयनको लागि यसअघि गठित निर्वाचन समितिका संयोजक वन अधिकृत सुरेश भगतले संयोजक पदबाट राजीनामा दिएको र भगत सेवा निवृत्त समेत भइसकेको अवस्थामा सो निर्वाचन समिति निष्कृय गर्न तामागढी सव डिभिजन वन कार्यालयका प्रमुख राजकिशोर प्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकबाट निर्णय भई आएकोले अगुवा भेला बोलाएर समितिका पदाधिकारी चयनको लागि नयाँ निर्वाचन मण्डल गठन गर्न गराउन तथा पुरानो समितिमार्फत नै समुहको लेखा परीक्षण गर्न गराउन एवं सधारणसभा बोलाएर मंसिर मसान्तसम्ममा समिति गठन कार्य सम्पन्न गर्न गराउनुका साथै समुहको वनको संरक्षणको सम्पुर्ण व्यवस्था मिलाउनु हुन समेत जानकारीको लागि अनुरोध छ ।’ डिभिजनल वन अधिकृत झाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

वन कार्यालयले निजगढ नगर कार्यपालिकाको कार्यालय र तामागढी सव डिभिजन वन कार्यालयलाई समेत सो पत्रको बोधार्थ पठाएर आवश्यक पहल र सहयोग गर्न गराउनु हुन भनेको छ ।
नयाँ कार्यसमितिको निर्वाचनको लागि समूहका पदाधिकारी र सदस्यहरुको मनोनयनपत्र दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएपछि गत वैशाख २७ गतेको लागि तोकिएको निर्वाचन रोकिएको थियो ।

स्थानीय राजनीतिक दलहरुले गठबन्धनसहित उम्मेदवारहरुको प्यानल बनाएर निर्वाचनको तयारी गरेका थिए । मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भइसकेपछि नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्र दर्ताको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न सकेको थिएन ।

उम्मेदवारी दर्तापछि निर्वाचन समितिले बोलाएको समयमा सम्पर्क गर्न ढिला आएको भन्दै कांग्रेस समर्थक उपभोक्ताहरुले चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग राखेर नामावली सार्वजनिक गर्न अवरोध गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वन समूहको अध्यक्षमा अर्जुन अधिकारीको नेतृत्वमा २ जना सदस्यहरुलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय