निजगढ,
निजगढ नगरपालिकाका पूर्वनगरप्रमुख सुरेश खनालले निजगढ वडा ९ कार्यालयलाई १ थान फोटोकपी मेसिन सहयोग गर्नुभएको छ ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गरेको आगजनीमा कार्यालयको फोटोकपी मेसिन नष्ट भएपछि पूर्वनगरप्रमुख खनालले बिहीवार कार्यालयमा पुगेर वडा समितिका सदस्यहरुलाई १ लाख मूल्य बराबरको क्यानोन कम्पनीको ठूलो फोटोकपी मेसिन हस्तान्तरण गर्नुभएको हो ।

गत भदौं २४ गते भएको आन्दोलनको क्रममा फोटोकपी मेसिनसहित कार्यालयका सामग्री र उपकरण आगजनी गरेर नष्ट पारिएपछि अवरुद्ध बनेको फोटोकपी सेवा सुचारु पार्न व्यक्तिगत लगानीमा मेसिन खरिद गरी सहयोग गरेको खनालले बताउनुभयो । आफू पनि सोही वडाको बासिन्दा भएकोले कार्यालयको सेवा प्रभावकारी तुल्याउने प्रयास स्वरुप फोटोकपी मेसिन सहयोग गरेको उहाँको भनाई छ ।

‘म पनि ९ नम्बर वडाकै सेवाग्राही हुँ, पूर्वनगरप्रमुख खनालले भन्नुभयो, मेसिन सहयोगबाट वडाका सबै सेवाग्राहीहरु लाभान्वित हुनेछन ।’

आन्दोलनकारीहरुले कार्यालयमा रहेको फोटोकपी मेसिनसहित कम्प्युटर, फर्निचर, कागजपत्र र अन्य सामग्रीहरु सडकमा ल्याएर आगजनी गरेपछि कार्यालयको काम प्रभावित हुदैआएको थियो । सोही क्रममा कार्यालयको ३५ हजार नगदसमेत चोरी भएको थियो । वडा अध्यक्ष रामचन्द्र कटुवालले वडा कार्यालयलाई गरिएको सहयोग अनुकरणीय रहेको बताउनुभएको छ । ‘सहयोग प्रशंसनीय छ, उहाँले भन्नुभयो, वडा समितिको तर्फबाट आभार प्रकट गर्न चाहान्छौ ।’

मेसिन हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कटुवालसहित सदस्यहरु चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी बिक र वडा सचिव सोम सिंह लामालगायत कार्यालयका कर्मचारी र वडाका सेवाग्राहीहरुको पनि उपस्थिति रहेको थियो ।

यसअघि पनि स्थानीय जल उपभोक्ता समितिले १ थान स्टील दराज, १ थान ठूलो टेबुल र स्थानीय समाजसेवी अमर ग्यालनले वडा अध्यक्ष कटुवालले प्रयोग गर्ने १ थान आरामदायी कुर्सी र रामु चौलागाईले कार्यालय प्रयोजनको लागि १ थान स्टील दराज पनि सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय