निजगढ, निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयले आगामी मंसिर ५ गते निजगढ नगरपालिकाका आधारभूत तहका विद्यालयका छात्रछात्राबीच कविता प्रतियोगिता गर्ने भएको छ ।
विद्यालयका प्रधानाध्यापक विशाल अधिकारी र अतिरिक्त क्रियाकलाप विभागका संयोजक तुलवीर रोकायले सूचना निकालेर निजगढ नगरस्तरीय सो प्रतियोगिता बारे जानकारी गराएका हुन ।
प्रतियोगितामा नगर क्षेत्रका विद्यालयहरुमा कक्षा ८ सम्म अध्ययन गर्ने छात्रछात्रा सहभागी हुनसक्ने र उनीहरुले मंसिर १ गतेभित्र विद्यालयको इमेल ठेगानमा कार्यालय समयभित्र आफूले रचना गरेको कविता पठाइसक्नुपर्ने जनाइएको छ । साथै एउटा विद्यालयबाट बढीमा २ जना मात्रै सहभागी हुन पाउने पनि सो सूचनामा उल्लेख छ ।
सूचनामा सहभागी कविताको विषयवस्तु राष्ट्रियता, देशप्रेम, गणतन्त्र, शिक्षा, बालअधिकार तथा समसामयिक विषयवस्तुसंग सम्वन्धित हुनुपर्ने र प्राप्त कविताहरु मध्ये छनोट समितिबाट सिफारिस भएका उत्कृष्ट १५ वटा कविताहरु विद्यालयको फेसवुक पेजमार्फत सार्वजनिक गरि मंसिर ५ गते विद्यालय प्राङ्गणमा हुने प्रतियोगितामा वाचन गरिने जनाइएको छ ।
प्रतियोगिताका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई आकर्षक पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।



