निजगढ, निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा बालाचतुर्थी तीथिमा लाग्ने रात्री मेलाको तयारी तीव्र पारिएको छ ।
बालाचतुर्थी पर्वको अवसरमा मन्दिर परिसरमा कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म लाग्ने मेलाको लागि बिजुली बत्ति जडान, खानेपानीको व्यवस्था, मेलास्थलको जमिन सम्याउने र सरसफाइ तथा रंगरोगनको काम शुरु गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर लामाले जानकारी दिनुभयो ।
मेला व्यवस्थापन गर्न लामाको अध्यक्षतामा गठन भएको १९ सदस्यीय समितिले मेला र बत्ति बाल्ने स्थान व्यवस्थापनको कम शुरु गरेको हो । उहाँका अनुसार मेलामा श्रद्धालुले बत्ति बाल्ने क्रममा अस्थायी केटेरासहित व्यापारिक प्रयोजनको लागि विभिन्न स्टल र मनोरञ्जका साधनहरु राखिने छ ।
बाला चतुर्थी पर्वको दिन भक्तजनहरु मन्दिर परिसरमा भेला भएर मृतक आफन्तको संझनामा रातभरि जाग्राम बसेर बत्ति बाल्ने गर्दछन । सोही क्रममा मन्दिरमा सांस्कृतिक कार्यक्रम सहित मेला पनि लगाइने गरिएको हो । दशकौंदेखि लाग्दैआएको सो मेला अघिल्लो वर्ष भने जिल्लाको बरियारपुरमा लागेको पञ्जवर्षिय गढीमाई मेलाका कारण रोकिएको थियो । मेलामा आउने व्यापारिक र मनोरञ्जका स्टलहरु गढीमाई मेलामा गएकाले सो पर्वमा मन्दिरमा मेला लागेको थिएन ।
बकैया खोला किनारामा रहेको नदीकट्टामा पर्ने सो महादेव मन्दिर धार्मिक दृष्टिले निजगढको महत्पूर्ण स्थलको रुपमा रहेको छ । मन्दिरमा शिव रात्रिमा समेत पूजापाठको लागि ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन ।
मेलाबाट यस धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नुको साथै स्थानीय उत्पादनको बजारीकरणबाट गाउँबासीको आर्थिकोपार्जमा सहयोग पुग्ने मन्दिर संचालक समितिका सल्लाहाकार मानबहादुर श्रेष्ठले बताउनुभयो ।



