बाराको निजगढ नगरपालिका–३ मा अवस्थित ऐतिहासिक टासिधार्गेलिङ बौद्ध गुम्बामा यस वर्षको ४१औँ बौद्ध गुम्बा मेला उत्साहपूर्वक जारी छ। सांस्कृतिक, धार्मिक र मनोरञ्जनात्मक दृष्टिले महत्वपूर्ण मानिने यो मेला हरेक वर्ष स्थानीय समुदायका लागि ठूलो पर्वझैँ मनाइँदै आएको छ। यस वर्ष मेलामा विशेष गरी राष्ट्रिय स्तरका कलाकारहरूको सहभागिता र प्रस्तुति मुख्य आकर्षण बनेको छ।
मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष दर्शकहरूले कलाकारहरूको प्रस्तुति हेर्नका लागि ३००, ५०० र एक हजार रुपैयाँ दरका टिकट लिनुपर्नेछ। मंसिर १७ गते सोमबार चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा)ले संयुक्त प्रस्तुति दिने कार्यक्रम तय गरिएको प्रस्तुतिहरू हेर्नका लागि साधारण टिकट रु ३०० र भिआईपी टिकट रु १,००० निर्धारण गरिएको छ।
त्यसैगरी मंसिर १८ गते मंगलबार लोकप्रिय गायक दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्डले समेत स्टेजमा प्रस्तुति दिनेछन। दर्शकले रु ३०० र १,००० को टिकटमा सहभागी हुन पाउनेछन भने मंसिर १९ गते बुधबार गायक कुमा सागरको विशेष प्रस्तुति हेर्नका लागि रु ५०० र १,००० को टिकट लिनुपर्नेछ। आयोजक समितिका अनुसार मेलामा टिकट पहिलोपटक हो।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु)ले भने,‘यसपटक हामीले फरक–फरक कार्यक्रममा फरक–फरक टिकट दर निर्धारण गरेका छौँ। भिआईपी टिकटधारकका लागि स्टेज नजिकै बस्ने सुविधा उपलब्ध गराइएको छ। तर, यसको संख्या सीमित भएकाले हाल एक सय जना दर्शकलाई मात्र यो टिकट उपलब्ध हुनेछ।’
अध्यक्षले थपे,‘गुम्बा मेलाको उद्देश्य केवल मनोरञ्जन होइन, धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्नु पनि हो। यस वर्षको मेला यस क्षेत्रकै सबैभन्दा ठूलो आकर्षण बन्ने विश्वास लिएका छौँ।’
मेला व्यवस्थापन समितिका संयोजक सञ्जीव योञ्जनका अनुसार मेलामा राष्ट्रिय स्तरका कलाकारहरूसँगै स्थानीय प्रतिभा प्रदर्शनको अवसर पनि दिइएको छ। ‘आईतबार हामीले छिमेकी नगरपालिका जीतपुरसिमरा उपमहानगरपालिकाको पथलैयामा रहेको द पनाम ब्याडको प्रस्तुति रहेको थियो यस बाहेक स्थानीय कलाकारहरूलाई पनि मञ्च उपलब्ध गराएका छौँ। यो मेला स्थानीय कलाकारहरूको क्षमता र सिर्जनशीलतालाई उजागर गर्ने माध्यम बनेको छ,’ उनले भने।
मेलामा केवल संगीत र प्रस्तुति मात्र नभई हरेक उमेर समूहका मानिसका लागि मनोरञ्जनका विविध कार्यक्रमहरू राखिएका छन। समितिका सचिव युवराज बल तामाङका अनुसार बालबालिकाका लागि खेल सामग्री, झुला, स्थानीय परिकारका स्टल र हस्तकला प्रदर्शनले मेलाको वातावरण झनै रमाइलो बनाएको छ।
स्थानीय बासिन्दा, टोल विकास संस्था र धार्मिक संघसंस्थाहरूको सक्रिय सहभागितामा मेला शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। मेला स्थलमा सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ भने दर्शकको सहज आवतजावतका लागि पार्किङ र प्रवेश व्यवस्था पनि सुदृढ पारिएको छ।
४१औँ टासिधार्गेलिङ बौद्ध गुम्बा मेलाको औपचारिक उद्घाटन आइतबार निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गरेका हुन। उनले मेलाले स्थानीय पर्यटन र आर्थिक गतिविधिमा सजीवता ल्याउने विश्वास व्यक्त गरे।
तीन दशकभन्दा बढीको इतिहास बोकेको यो गुम्बा मेला बारा जिल्लामात्र नभई छिमेकी जिल्लाका भक्त, पर्यटक र मनोरञ्जन प्रेमीहरूको साझा गन्तव्य बन्न थालेको छ।




