निजगढ नगरपालिका– ३ स्थित टासिधार्गेलिङ बौद्ध गुम्बामा यस वर्षको ४१औँ गुम्बा मेला हिजो रातिबाट शुरु भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गरेपछि मेला शुरु भएको हो ।
उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख पुरीले मेलाले तामाङ समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँगै व्यपार व्यवसाय प्रवद्र्धनमा मद्दत गर्ने बताए । उद्धघाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ, ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, स्थानीय समाजसेवी मानबहादुर लामा, बुद्ध लामालगायतले धारण व्यक्त गरेका थिए ।
मेलामा यसपटक चर्चित राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड, पछिल्लो पुस्ताका लोकप्रिय गायक कुमा सागर, चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा) लगायतका स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन ।
मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जिव योञ्जनले संगीत कार्यक्रमसंगै मेला स्थलमा रोटेपिङ, मौतका कुवाँ, जम्पिङ, कोलम्बस सवारी लगायतका मनोरञ्जन सामग्री राखिएको जानकारी दिए । यस बाहेक बालबालिका लक्षित खेल सामग्री, स्थानीय परिकारका स्टलहरू, फोटो स्पटहरू र परम्परागत झाँकीहरुको प्रदर्शन हुनेछ । हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा गुम्बामा तामाङ्ग समुदायले आफ्ना पितृ उद्धारको बत्ति बाल्ने गरेका छन ।



