बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक मेलामा सहभागी भएर नेपाल फर्किएका उनीहरुको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । 

बैशाख १४ गते क्वारेन्टाइन अस्पतालको आइसोलेसनमा राखिएका उनीहरुको स्वाब त्यसैदिन वीरगन्जको कोभिड अस्पतालबाट काठमाडौं पठाइएको थियो । 

संक्रमण देखिनेमा सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरका ३१ वर्षीय र जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका ४३ वर्षीय पुरुष छन् । उनीहरु फाल्गनु २९ (मार्च ११) मा नेपाल फर्किएका थिए । उनीहरुमध्ये सिम्रौनगढ घर भएका व्यक्तिलाई जीतपुरसिमरा उपमहानगरपालिकाको इनर्वासिरास्थित मस्जिद र अर्का व्यक्तिलाई जीतपुरस्थित घरबाट क्वारेन्टाइन अस्पतालमा ल्याइएको थियो । 

उनीहरु बैशाख १४ गते कोरोना संक्रमण देखिएका वीरगन्ज महानगरपालिका १६ ईनर्वाका ५५ वर्षीय पुरुषसँगै नेपाल फर्किएका थिए । वीरगन्जका ती व्यक्तिमा संक्रमण पुष्टि भएलगत्तै कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममासँगै फर्किएको देखिएपछि उनीहरुलाई सोही दिन आइसोलेसनमा राखिएको थियो । 

कोरोना संक्रमण देखिएपछि उनीहरुलाई वीरगंजस्थित कोभिड अस्पताल पठाएको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी थालिएको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय