विपतको वेला थर्मलगन कालोबजारीको आरोपमा पक्राउ परेका शंकर घरानाका व्यापारी सुलभ अग्रवालविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गएको हो । 

उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर गरिएको छ । ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले बताए । तीनैवटा दफाअनुसार बढीमा एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले थप ५० प्रतिशत सजाय माग दाबी गरिएको छ । 

सार्वजनिक पद धारण गरेको व्यक्तिले अपराध गरेमा ५० प्रतिशत थप सजाय हुनेछ । दफा २(क)मा ‘नेपाल सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारण गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल वस्तुको लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई एक वर्षसम्म कैद हुनेछ र दश लाख रुपैयाँसम्म जरिवानासमेत हुन सक्नेछ ।’ 

त्यस्तै दफा ३को उदफा १ अनुसारको दाबी पनि लिइएको छ । जसमा ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने’ उल्लेख छ । 

ऐनको दफा ५ मा, बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा बिक्री गर्ने नियतले त्यस्तो मालवस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । तर, नेपाल सरकारले अति आवश्यकको भनी राजपत्रमा तोकिदिएको मालवस्तुका सम्बन्धमा सोही अपराध उत्पादक, आयातक वा मुख्य वितरक वा निजहरूको कुनै डिलर वा एजेन्टले गरेमा निजलाई एक वर्षसम्म कैद वा दश लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ उनले गरेको अपराधमा यी तीन दफा आकर्षित हुने प्रहरीको राय थियो । 

उनीविरुद्ध १५ लाख ७८ हजार नौ सय १३ रुपैयाँ सात पैसाबराबरको बिगो दाबी गरिएको छ । उनले एक सय ४५ वटा ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको प्रहरीको आरोप छ । ग्राहक बनेर गएको प्रहरीलाई उनले ६७ वटा थर्मलगन १० लाख रुपैयाँमा बिक्रीको प्रयास गर्दा गत २५ चैत पक्राउ परेका थिए । करिब पाँच हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बिक्री गरेको अभियोग उनीमाथि छ । उनी नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन् । 

अग्रवालमाथि राजस्व अनुसन्धान विभागले समेत थप छानबिन गर्ने भएको छ । उनले पेस गरेको बिलको सम्बन्धमा छानबिनका लागि राजस्वलाई पत्राचार गरिएको सहन्यायाधिवक्ता रेग्मीले बताए । कालोबजारी मुद्दामा बुधबार थुनछेक बहस र आदेश हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय