इन्दीप कोइराला, निजगढ । काठमाडौंमा सम्पन्न रिटर्नी माइग्रेन्ट नेपालको तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारणसभाबाट बाराको निजगढ नगरपालिका–७ निवासी सरोज कोइराला २०८२/८४ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएका छन ।
शनिबार सम्पन्न अधिवेशनले कोइरालालाई संस्थाको केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो। निर्वाचनपश्चात कोइरालाले आफ्नो मनोनयनलाई अवसर र चुनौतीका रूपमा लिँदै संस्थाको हक, हित, प्रवद्र्धन, संरक्षण तथा सम्पूर्ण रिटर्नी विदेशबाट फर्किएका नेपालीहरूको अधिकारका लागि सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गरेका छन ।
उनी विगत केही वर्षदेखि संस्थामा क्रियाशील रहँदै आएका थिए र यसअघि विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन । रिटर्नी माइग्रेन्ट नेपालको विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका कोइरालाले निर्वाचनमा विश्वास प्रकट गर्ने सम्पूर्ण प्रतिनिधिहरू, आजीवन सदस्यहरू, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा निर्वाचन मण्डललाई धन्यवाद दिएका छन ।
उनले भने,‘यो जिम्मेवारी मलाई थप ऊर्जा र प्रेरणा दिनेछ। संस्थाको हितमा काम गर्न म सधैं प्रतिबद्ध रहनेछु। साथ, समर्थन र विश्वासप्रति म आभारी छु।’
कोइरालाले संस्थाको अधिवेशन तथा साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान दिने सम्पूर्ण सदस्यहरू, विशेषतः आजीवन सदस्य समूहमा जोडिएका व्यक्तिहरूलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्। उनले भने,‘यहाँहरूको साथ र समर्थनले अगाडि बढ्न हिम्मत र आत्मबल मिलेको छ, जुन म सधैं स्मरणमा राख्नेछु ।’
अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका कृष्ण कुमार न्यौपानेसहित सम्पूर्ण नवनिर्वाचित कार्यसमिति टोलीलाई बधाई दिँदै कोइरालाले कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन ।
रिटर्नी माइग्रेन्ट नेपालले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई सामाजिक पुनःस्थापना, सीप विकास, रोजगारी सिर्जना र अधिकारको संरक्षणमा योगदान गर्दै आएको छ।
संस्थाका अनुसार, आगामी कार्यकालमा रिटर्नीहरूका लागि समावेशी र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै उनीहरूको समृद्धि र स्थायीत्वमा योगदान र्पुयाउने लक्ष्य रहेको छ।



