निजगढ नगरपालिका-५ का युवा फुटबल खेलाडी श्रीजन छेत्री नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउन सफल भएका छन्। स्थानीय न्यु जनजागृति युवा क्लबबाट फुटबल यात्रा सुरु गरेका छेत्रीले नेपाल राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रक्रिया पार गर्दै अन्तिम टिममा नाम लेखाउन सफल भएका हुन्।
उनी हाल राष्ट्रिय टोलीमा छानिएसँगै निजगढ क्षेत्रमा खुसीयालीको लहर छाएको छ। नगरका विभिन्न स्थानमा खेलकुदप्रेमी युवादेखि बृद्धाबृद्धासम्मले छेत्रीको यो उपलब्धिलाई गर्वका साथ स्वागत गरेका छन्।
मैदानबाट राष्ट्रिय टिमसम्म
श्रीजन छेत्री करिब एक दशकदेखि स्थानीय खेलकुद गतिविधिमा सक्रिय थिए। स्कुल स्तरका प्रतियोगिता, नगरस्तरीय फुटबल लिग, जिल्ला स्तरीय नकआउट प्रतियोगिता हुँदै उनीले आफूलाई बलियो खेलाडीका रूपमा स्थापित गर्दै लगे।
उनी लामो समयदेखि न्यु जनजागृति युवा क्लबमा आबद्ध छन्। क्लबमार्फत विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका छेत्रीको खेल कौशल, अनुशासन र फिटनेसप्रतिको प्रतिबद्धताले उनलाई निरन्तर अगाडि बढाएको हो।
गत महिनामात्र सम्पन्न राष्ट्रिय टिम छनोट प्रक्रियामा उनले दमदार प्रदर्शन गर्दै कोचहरूको ध्यान तानेका थिए। अखिल नेपाल फुटबल संघद्वारा सञ्चालित छनोट शिविरमा उनको खेलप्रतिको समझदारी, ट्याक्निकल चाल, पासिङ क्षमताले निर्णायकहरूलाई प्रभावित पार्न सफल भएको बताइएको छ।
क्लबको तर्फबाट बधाई र समर्थन
श्रीजनको राष्ट्रिय टिममा छनोटसँगै न्यु जनजागृति युवा क्लबले एक विज्ञप्ति जारी गर्दै उनलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेको छ। क्लबका अध्यक्ष विजय तिमल्सिनाले निजगढ न्युजसँग प्रतिक्रिया दिँदै भने,’श्रीजनले आजको दिनमा पुरै नगरको नाम राष्ट्रिय स्तरमा पुर्याएका छन्। यो हाम्रो क्लबका लागि मात्र होइन, सिङ्गो निजगढ र बाराका लागि गर्वको क्षण हो।’
उनले क्लब र व्यक्तिगत तर्फबाट खेलाडी छेत्रीलाई भविष्यमा आवश्यक सबै प्रकारका साथ, सहयोग र समर्थन उपलब्ध गराइने प्रतिवद्धता समेत व्यक्त गरे। ‘श्रीजनको सफलता नगरका अन्य युवाहरूकालागि पनि प्रेरणाको स्रोत बन्नेछ,’ तिमल्सिनाले भने।
युवा पुस्ताको प्रेरणा
छेत्रीको यो सफलता निजगढका किशोर/किशोरी र फुटबलप्रति रुचि राख्ने युवाहरूका लागि ऊर्जा बनिरहेको छ। पछिल्लो समय निजगढ क्षेत्रमा फुटबल गतिविधि बढ्दै गइरहेको छ र यस्तो समयमा एक स्थानीय खेलाडीको राष्ट्रिय टिमसम्मको यात्रा प्रेरणादायी भएको क्लब पदाधिकारीहरू बताउँछन्।
छेत्रीले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने विश्वास स्थानीयको छ।



