निजगढ,
रौतहटको गुजरा नगरपालिका– ३ स्थित जंगलशैया– सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागू औषधसहित निजगढका दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका– ८ निवासी १८ वर्षीय माइला भनिने नवबहादुर वाइबा र सोही ठाउँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेका छन । शनिवार साँझ ६ः१५ बजेमा सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई जनाको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोषकुमार बस्नेतले बताउनुभयो । उनीहरूले झोलामा लुकाइछिपाई लागू औषध बोकेको अवस्थामा प्रहरीले फेला परेको हो ।
उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस , नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन १ थान, डाइजेपाम १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



