आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी तथा बहुमूल्य पत्थरमा गरिएको कर वृद्धि विरुद्ध देशव्यापी रुपमा सुरु गरिएको आन्दोलनको समर्थनमा निजगढका सुनचाँदी पसलहरू आजदेखि अनिश्चितकालीन रूपमा बन्द भएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आह्वानमा बन्दको घोषणा गरिएको हो। त्यसैको अनुपालनमा निजगढ–कोल्हवी सुनचाँदी व्यवसायी संघले व्यवसाय पूर्णरूपमा ठप्प पारेको हो।

संघका अध्यक्ष मछिन्द्र गहतराजका अनुसार, सरकारले प्रस्तुत गरेको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको छ, जुन व्यवसायीमात्र होइन, आम उपभोक्ताका लागि पनि अन्यायपूर्ण करको रूपमा देखिएको छ।

“सरकारको कर नीतिले सम्पूर्ण सुनचाँदी व्यवसाय संकटमा पार्ने देखिएकाले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ,” अध्यक्ष गहतराजले बताए।

व्यवसायीहरूले सुनमा लागू गरिएको विलासिता कर तथा भ्याट खारेज गर्नुपर्छ र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा कार्यविधि तय गर्नुपर्ने माग गरेका छन् । साथै, उनीहरूले सुनको भन्सार दर ६ प्रतिशतमा सीमित राख्नुपर्ने मागसमेत राखेका छन्।

अध्यक्ष गहतराजले थपे, “बजेट वक्तव्यमार्फत सुनचाँदी, जुहारत तथा हस्तकलालाई लक्षित गरी लगाइएको करले मात्र व्यवसायीलाई होइन, सर्वसाधारण उपभोक्तालाई पनि प्रत्यक्ष असर गर्छ। यस्ता अव्यवहारिक नीति खारेज नभएसम्म आन्दोलन जारी रहनेछ।”

विवादास्पद कर नीतिका कारण देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्। निजगढमा समेत आन्दोलनको चपेटा परेपछि उपभोक्ता र व्यापारी दुवै अन्योलमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय