निजगढ,

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १६ स्थित टाँगियाबस्तीमा स्थानीयले स्वागत गरेका छन ।

२ वर्षअघि बस्तिमा विद्युतीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाहा गर्नुभएका निवर्तमान कार्यकारी निर्देशक घिसिङ मंगलवार पहिलोपटक टाँगियाबस्तिमा आइपुग्नुभएको हो ।
स्वागत कार्यक्रममा बोल्दै उहाँले टाँगियाबस्तीमा विद्युत् पुर्याउँदा युद्ध जितेजस्तो अनुभव गरेको सुनाउनुभएको छ ।

प्राधिकरण त्यतिबेला टाँगियाबस्तीमा बत्ति बाल्नुपर्छ भन्ने पक्षमा रहेको तर वन, पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयहरु प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विस्थापित हुने बस्तीमा विद्युतीकरण गर्न नहुने अडानमा रहेका कारण सरकारी निकायबीच नै द्वन्द्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उज्यालो नेपालअन्तर्गत हरेक नेपालीको घरमा विद्युत् पुर्याउने अभियानमा थियौं, तर पूर्वपश्चिम राजमार्गबाट करिब ५÷६ किलोमिटर दूरीमा रहेको टाँगियाबस्तीमा बत्ती छैनभन्दा नरमाइलो लाग्यो, मेरो पहिलो कार्यकालको अन्त्यतिर विद्युतीकरणका लागि टेण्डर गरिएको थियो । यसैबीचमा मेरो कार्यकाल सकियो ।

सरकारी निकाय अवरोध कारण उक्त टेण्डर रद्ध गरिएछ । त्यसपछि मेरो दोस्रो कार्यकालमा शरणार्थीलाई त न्यूनतम सुविधा उपलब्ध गराइन्छ भने आफ्नै देशका नागरिकलाई बत्तिको सुविधाबाट बञ्चित गराउनु हुँदैन भनेर प्रक्रिया अगाडि बढाइयो र विद्युतीकरण गर्न सफल भयौं ।’

टेण्डरपछि वन कार्यालयबाट विद्युतीकरणका लागि अवरोध भएको तर आवश्यक समन्वय गरी बत्ती बालिएको अनुभव घिसिङले सुनाउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थानान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो । त्यसपछि मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ बत्ती जडान गरिएको थियो ।

प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै पूर्वाधार निर्माणको काममा रोक लगाइएपछि टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी ५ दशकदेखि अँध्यारोमा बस्दैआएका थिए ।

प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा बत्ती बलिएको थियो ।

घना जंगलको बिचमा रहेको टाँगियावस्तिमा प्राधिकरणले एउटा पनि रुख नकाटिकन मोटर बाटोको छेउबाट करिब ७ किलोमिटर ११ केभी लाइन तानेको छ । रुख जोगाउनका लागि जंगल क्षेत्रमा कभर्ड कन्डक्टर÷इन्सुलेटेड कन्डक्टर प्रयोग गरिएको छ ।
टाँगियाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय