सिमरा,
दोस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता २०८२ शनीवारबाट सुरु भएको छ ।
जीतपुरसिमरा स्पोर्ट क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहाको क्रिकेट मैदानमा सुरु भएको क्रिकेट कपको उद्घाटन युवा तथा खेलकुद पूर्वमन्त्री तथा संविधानसभाका सदस्य पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले नेपालमा पनि क्रिकेट खेलको आकर्षण बढेको उल्लेख गर्नुभयो । उहाँले पछिल्ला दिनहरुमा सरकारले क्रिकेट खेलको विकासको लागि ध्यान दिन सुरु गरेकोप्रति संघीय सरकारलाई धन्यवाद दिनुभयो ।
पूर्वमन्त्री पौडेलले नेपालमा क्रिकेट खेलको विकासको पर्याप्त शंभावना रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासको लागि प्रदेश र स्थानीय तह सरकारले पनि कुल बजेटको कम्तिमा एक प्रतिशत बजेट छुट्याएर काम गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मधेस प्रदेश सभाका सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ, क्रिकेट सङ्घ मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवाल, नेकपा माओवादी केन्द्रका बेनी तिमल्सिना, सुभारम्भ कलेजका प्रमुख शम्भु मण्डल लगायतले बोल्नुभएको थियो ।
जीतपुरसिमरा स्पोर्ट क्लबका अध्यक्ष सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह ठकुरी, डुमरवाना कलेजका उपप्रमुख किशोर शर्मा, रविन्द्र खकुरेल, शुक्र श्रेष्ठ जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य अर्जुन रसाइली लगायतको उपस्थिति रहेको थियो ।
उद्धाटन कार्यक्रममा सुशान्त ठकुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।



