निजगढ, निजगढ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना र बारा निजगढ तेक्वाण्डो दोजाङ्गको व्यवस्थापनमा गत जेष्ठ २ र ३ गते निजगढमा भएको प्रथम निजगढ नगर स्तरीय खुल्ला तेक्वाण्डो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा भएको सामान्य घटनालाई अतिरञ्जित नगर्न प्रतियोेगिता व्यवस्थापक बारा निजगढ तेक्वाण्डो दोजाङ्गले आग्रह गरेको छ ।
प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको बारा निजगढ तेक्वाण्डो दोजाङ्गले बिहीवार आयोजना गरेको समीक्षा बैठकपछि आयोजक दोजाङ्गका प्रमुख चित्रबहादुर (नन्दु) लामा विज्ञप्ति निकालेर सो कुरा बताउनुभएको हो ।
प्रमुख लामाले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा महिलातर्फ ४२ केजी तौल समूहमा स्वर्ण पदक विजेता निजगढ १ को नेरामावि सिंगौलकी खेलाडी यामी लोप्चनको नाम मेडल वितरण गर्ने क्रममा भुलवस बोलाउन छुट्ेको र सोही क्रममा नेरामावि सिंगौलका दोजाङ्ग प्रमुख मानबहादुर लामाले मञ्चमा पुगेर आयोजकसंग त्रुटी सच्याउन आग्रह गरेको बेला केही व्यक्तिहरुले श्रव्य÷दृश्य सामग्री बनाएर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भन्दै सो सामग्रीबाट भ्रममा नपर्नसमेत सर्वसाधारणसंग आग्रह गरिएको छ ।
‘पुरस्कार वितरण कार्यक्रमको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, घटना अति सामान्य रहेको त्यसलाई तत्कालै सच्याइएको अवस्थामा घटनालाई अतिरञ्जित गरेर सर्वसाधारणलाई भ्रममा पार्ने कार्य नगर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
नेरामावि सिंगौल दोजाङ्गका प्रमुख मानबहादुर लामाले पनि आफ्नो दोजाङ्गबाट स्वर्ण पदक विजेताको नाम बोलाउन छुटेपछि आफूले आयोजकलाई त्रुटी सच्याउन मात्रै आग्रह गरेको र सो विषयलाई अन्यथा अर्थ लाग्ने गरी प्रचार गरिएकोमा लामाले पनि आपत्ति जनाएको विज्ञप्तिमा जनाइएको छ ।
समीक्षा बैठकमा बारा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठसहित प्रतियोगितामा सहभागी निजगढका सबै दोजाङ्गका प्रमुखहरु उपस्थित रहेको थियो ।
बैठकले प्रतियोगिता भव्यताका साथ सफल भएको निष्कर्ष निकाल्दै यसमा सहयोग गर्ने सहयोग गर्ने निजगढ नगर नगरकार्यपालिकाको कार्यालय, सहभागी खेलाडी, निर्णायक रेफी, खेलप्रेमी, सञ्चारकर्मी तथा सम्पूर्ण निजगढ नगरबासीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
निजगढका ६ वटा दोजाङ्गका महिला पुरुष गरी २०३ खेलाडीहरुको सहभागिता रहेको सो प्रतियोगितामा १३ स्वर्ण, १० रजत, १७ कास्यसहित ४० वटा पदक जितेर निजगढ ९ को जनज्योति तेक्वाण्डो दोजाङ्ग पहिलो भएको थियो भने १३ स्वर्ण, ९ रजत र १० कास्यसहित निजगढ ७ को नेत्रोदय दोजाङ्ग द्वितीय र ८÷८ स्वर्ण र रजत पदकसहित नेरामावि सिंगौल दोजाङ्ग तृतीय भएको थियो ।



