बारामा जेष्ठ १५ देखि स्थानीय तहस्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता हुने
निजगढ,
बारा जिल्लामा आगामी जेष्ठ १५ गतेदेखि १७ गतेसम्म अन्तरविद्यालय स्थानीय तह स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठले बुधवार एउटा सूचना निकालेर प्रतियोगिताको बारेमा जानकारी दिनुभएको हो । सूचनामा प्रतियोगिता खेल्न छनौट भएका खेलाडीलाई सहभागी गराउन पालिकाहरुसंग अनुरोध गरेको छ । पालिकाहरुले यसअघि नै आआफ्नो पालिकाभित्र प्रतियोगिता संचालन गरेर जिल्लास्तरीय राष्ट्रपती रनिङ्ग शिल्डमा सहभागी हुने खेलाडीहरुको छनौट गरेका छन ।
बारा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विवरण आगामी जेष्ठ १३ गतेभित्र जिल्ला खेलकुद विकास समितिमा उपलब्ध गराउन पनि भनेको छ ।
सूचनामा सहभागी खेलाडीहरुले आफ्नो उमेर खुलेको प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने र सहभागी खेलाडीले खेल पोशाक लगाउनुपर्ने भनिएको छ । २ दिनसम्म चल्ने सो प्रतियोगिता संचालन हुने स्थानको बारेमा भने पछि जानकारी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठले जानकारी दिनुभयो ।



