
निजगढ । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एंव मधेश प्रदेश इन्चार्ज एवम् रेडियो सिमराका प्रबन्ध निर्देशक अच्युत पौडेलले बाराको बारागढी गाउँपालिकामा आर्थिक रूपले विपन्न परिवारकी एक किशोरीको विवाहको लागि खाद्यान्न र लत्ताकपडा सहयोग गर्नुभएको छ ।
बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई) को छोरी २२ वर्षिय फूलपाति देबीको विवाह भोजको लागि पौडेलले बुधवार खाद्यान्न सामग्री र बेहुला बेहुलीको पोशाक सहयोग गर्नुभएको हो । किशोरीको आगामी साता जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको बलुवामा एक किशोरंसंग विवाहा हुन लागेको छ ।
आर्थिक रूपले कमजोर र मुटु एंव टीबी रोगबाट पीडित सहनीको छोरीको विवाहमा पत्रकार पौडेलले २५० जनालाई पुग्ने खाद्य सामग्री र बेहुला बेहुलीका लागि कपडा सहयोग गर्नुभएको हो । सोही गाउँपालिकाका राजकिशोर चौधरीको समन्वयमा बेहुलीकी आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई पत्रकार पौडेलले सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
ओम विनायक ट्राभल्सका सञ्चालक समेत रहेका पत्रकार पौडेलले आर्थिक अभावका कारण कुनै पनि छोरी÷चेलीको विवाह नरोकियोस भन्ने उद्देश्यले आफूले फूलपातिको विवाहको लागि सकेको सहयोग गरेको बताउनुभएको छ । भोजको लागि सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा अच्युत पौडेल जस्ता सहयोगी मन भएका व्यक्तिहरुको उपस्थितिले आफूहरु जस्तो असहाय परिवारलाई छोरीको विवाह गर्न मद्दत पुगेको बताउनुभएको छ ।