
२०६२/०६३ मा भएको जनआन्दोलनको बलमा २०६३ वैशाख ११ मा राजसंस्था ढल्यो । सोही आन्दोलनको बलमा नेपाली जनताले राजाको प्रत्यक्ष शासनलाई ढालेर लोकतन्त्र स्थापना गरेका थिए ।
२०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ गतेसम्म भएको जनआन्दोलनको क्रममा २०६३ बैशाख ४ गते शाहदत भएका बारा निजगढ नगरपालिका–६ का हिरालाल गौतमको १९ औं स्मृति दिवस मनाईएको छ ।
गौतमको १९औं स्मृति दिवसको अवसरमा बिहिबार निजगढ नगरपालिका–४ मा उनको नामबाट नामकरण गरिएको सहिद हिरालाल पार्कमा नेकपा एमाले निजगढ नगरकमिटीको आयोजनामा स्मृती दिवस मनाईएको हो ।
निजगढ नगरपालिकाका नगरप्रमुख एवम् नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको भएको सो कार्यक्रममा सहभागीहरुले पार्कमा रहेको गौतमको शालिकमा अवीर तथा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुले सहिद हिरालाल गौतमको योगदानको बारेमा चर्चा गरेका थिए । उनीहरुले देशका निम्ती शाहदत भएका सहिदहरुको सपनालाई सकार बनाउदै सहिदले देखाएको बाटोलाई भुल्न नहुने बताएका थिए ।
कार्यक्रममा नगरप्रमुख पुरीले २०६२/०६३ को जनआन्दोलनको औचित्यका बारेमा पछिल्लो पुस्तालाई केही समुहले जबर्जस्त नकारात्मकताको भ्रम फैलाउने काम भएको उल्लोख गर्दै सचेत जनताले सधै खबरदारी गर्दै सहिदको सपना पूरा गर्न एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहिद पिता षडानन्द गौतम, सहिद पत्नी गायत्री गौतम, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज लिलादेवी लामिछाने खनाल, प्रदेश कमिटी सदस्य सुदर्शन प्रसाद कोईराला, अम्बिका प्रसाद चौलागाईं, नगर उपप्रमुख सोम माया थिङ लगायतका नेता कार्यकर्ताहरु, एवम सहिद परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।