निजगढ नगरपालिका– ७ मा रहेको लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले निजगढमा तोरी पेल्ने मिल संचालन गर्ने भएको छ ।

शनिबार सम्पन्न संस्थाको साधारणसभामा अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले संस्थाको आफ्नै जग्गामा फिल्टर गरिएको शुद्ध तोरीका तेल उत्पादन गर्न लागेको बताए । उक्त कार्यका लागि निजगढ– ७ मा रहेको संस्थाको जग्गामा भवनको शिलान्याससमेत भइसकेको उनले जानकारी दिए ।

साधारणसभामा संस्थाले शेयरधनी सदस्यहरुलाई पानी खाने तावाँको भाँडो पनि वितरण गरेको छ । यसअघि संस्थाले शेयरधनी सदस्यहरुलाई लोडसेडिङको समयमा उज्यालो अभियान कार्यक्रम अन्तर्गत सोलार सेट, गर्मीका लागि स्टेण्ड फ्यान, शीतलहरबाट बच्न ब्ल्यांकेट, चरेसको थाल र करुवा लगायतका सामग्री गर्दैआएको थियो ।

सो अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गम्भीर रोग लागेका शेयरधनीहरुलाई १० हजार रुपैयाँ अनुदान सहयोग र ३ महिनासम्म निव्र्याजी १ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने जानकारी दिइएको थियो ।

त्यस्तै शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च बापत १० हजार अनुदानका साथै सुत्केरी शेयर सदस्य र नवजात शिशुलाई आवश्यक पर्ने उपहार पनि प्रदान गर्दै आएको अध्यक्ष चौलागाईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले ज्येष्ठ सदस्यहरुलाई ८४ पूजामा दक्षिणासहित १० हजार रुपैयाँ उपलब्ध गराउने र संस्थाले वार्षिकरुपमा नविकरण गर्ने गरि १ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा पनि गराउँदै आएको छ ।

मधेस प्रदेशसभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा कोषाध्यक्ष अञ्जु नेपालीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिकी संयोजक पार्वती अधिकारीले लेखा प्रतिवेदन तथा व्यवस्थापक रोशन तिमल्सिनाले अनुमानित खर्च विवरण पेश गरेका थिए ।

कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, बारा जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका सापकोटा उप्रेती, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायतले बोल्नुभएको थियो । सहकारी संस्थामा कुल ५२५ जना शेयर सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय