
निजगढ नगरपालिका– ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा एवम् ईकाइ प्रतिनिधिहरुको बैंठक बिहिबार सम्पन्न भएको छ ।
साधारण सभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले उद्धाटन गरेका थिए ।
उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले देश कठिन मोडमा उभिएको भन्दै स्रोतको सुनिश्चि नहुदै पूर्वाधारहरुको शिलन्यास गर्ने होडले गर्दा बजेटमा समस्या उत्पन्न भएको बताउए । सांसद मैनालीले दुग्ध किसानको समस्या समाधान गर्न आफूले समन्वय गर्ने र निकास निकाल्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बागदेव दुग्ध उत्पादक सहकारी संस्था विभिन्न चुनौति सामना गर्दैआएको बताए ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साह, निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध सहकारी संघ बाराका अध्यक्ष पुरुषोत्तम भट्टराई, निजगढ नगर सहकारी सञ्जालका संयोजक भोलाप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष सुदर्शनप्रसाद कोईराला, निजगढ नगर सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेतीलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक राजन तिमल्सिनाले लेखा प्रतिवेदन पेश गरेका थिए भने संस्थाका व्यवस्थापक शौरभ अधिकारीले आर्थिक प्रतिवेदनसहित सहकारीको आगामी बजेट प्रस्तुत गरेका थिए ।
यसैबीच साधारण सभाको अवसरमा उत्कृष्ठ कृषकलाई सम्मान पनि गरिएको छ । एक वर्षमा २१ हजार नौं सय ४५ लिटर दुग्ध बिक्री गर्ने बकैया ठाकुर पशुपालन फर्म सर्वोकृष्ट भएको छ । १६ हजार चार सय ४९ लिटर दुग्ध बिक्री गर्ने कैलाश खड्का र १३ हजार ४ सय ३६ लिटर दुग्ध बिक्री गरेर रामप्रसाद हुमागाई सम्मानित भएका छन् । उनीहरुलाई मेयर पुरीले नगद र सम्मान–पत्रले सम्मान गरेको थियो ।
त्यस्तै कार्यक्रममा पूर्वकर्मचारी सम्मानबाट पूर्वलेखापाल गोविन्दप्रसाद गौतमलगायत सम्मानित भएका छन । त्यस्तै उत्कृष्ट पत्रकारित पुरस्कारबाट पत्रकार प्रलाद तिमल्सिनालाई सम्मान–पत्रले सम्मान गरिएको छ ।
सहकारीका पूर्वकोषाध्यक्ष रामहरी खरेल र सहसचिव निर्मल बजगाईले पदबाट राजिनामा दिएपछि रिक्त बनेको सो पदमा नवनिर्वाचित कोषाध्यक्ष भोलाप्रसाद ढुंगाना र सचिव गंगाप्रसाद दंगाल र महिला सदस्य लिलामाया सोनार्नी तथा लेखा समितिका महिला सदस्य देबकी अधिकारीलाई निर्वाचन समितिका संयोजक अजय उप्रेतीले पद तथा गोपनियताको सपथ गराइएको थियो ।
संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले र सञ्चालन सचिव प्रकाश सापकोटाले गरेका थिए ।