निजगढमा बिहिबारबाट माध्यमिक विद्यालय स्तरीय चौंथो राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहिद हिरालाल स्मृति रंगशालामा शुरु भएको सो प्रतियोगिता अन्तर्गत बुधवार भएका ३ वटा प्रतिस्पर्धामा निजगढ ५ को गौरीशंकर मावि सडकटोलले २ र निजगढ ८ को गौरीशंकर माविले एउटा स्वर्ण जितेको छ ।
गौरीशंकर मावि सडकटोलले छात्र र छात्रातर्फको सटफुटको स्पर्धामा स्वर्ण पदक जितेको हो । गौरीशंकरका अरुण घिमिरे र अरुणिमा घिमिरे विजयी भएका हुन ।
त्यसैगरी गौरीशंकर मावि निजगढ ८ ले छात्रातर्फ ८०० मिटर दौडमा पहिलो र दोस्रो दुबै स्थान हात पारेको छ । सो विद्यालयकी कुशुम पण्डितले स्वर्ण पदक जितिन भने बबिता साहले कास्य पदक हात पारेकी छिन ।
प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधासहित भलिबल, कपर्दीलगायतका खेल समावेश छन । भलिबल खेलको प्रतिस्पर्धा रतनपुरस्थित नेरामावि र कपर्दी खेल भने सिंगौलको लोकप्रिय आविको खेल मैदानमा संचालन भइरहेको छ । ३ दिनसम्म चल्ने सो प्रतियोगितामा निजगढ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका ३ सयभन्दा बढी छात्रछात्र सहभागी छन ।
यसअघि राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्धाटन मधेस प्रदेश सभा सदस्य मिना लामाले गरेकी थिईन । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सभासद लामाले सटफुट फालेर प्रतियोगिताको उद्धाटन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सभासद लामा, उपप्रमुख सोममाया थिङ्ग, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमन बर्तौला, गौरीशंकर माविका प्रअ यादवकुमार तिमल्सिनालगायतले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सार्वजनिक माविका प्रअ हस्तबहादुर लामाले गरेका थिए ।




