गढीमाई मेलाको अवसरमा निजगढ नगरपालिकाले मंसिर २४ गते सोमवार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सूचना निकालेर अत्यावश्यक काम बाहेक नगरपालिका र माताहतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु, संघसंस्था, बैङ्क तथा बित्तीय संस्थाहरुमा नगरपालिकाको प्रमुख स्तरीय निर्णयबाट सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका हुन ।
यसअघि जिल्लाका पालिकाका प्रमुखहरुको बैठक बसेर मंसिर २१ गतेदेखि २४ गतेसम्म बिदा दिन पालिकाहरुमा अनुरोध गर्ने निर्णय गरेको अनुसार २१ गतेबाट २३ गतेसम्म बिदा भएका कारण निजगढले २४ गते एक दिनको लागि मात्रै बिदा घोषणा गरेको हो ।
जितपुरसिमरा, कलैया उपमहानगरपालिका र महगढीमाई, सिम्रौनगढ कोल्हबीलगायत अन्य पालिकाले भने बैठकको निर्णय अनुसार २१ गतेबाट मंसिर २४ गतेसम्मको लागि पालिकामा सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेका छन ।
यस्तै प्रदेश सरकारले गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते मधेस प्रदेशभरि सार्वजनिक तथा सरकारी निकायमा लागि बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिहले लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउन बिदा घोषणा गरिएको बताए ।
गढीमाई मेला परिसरमा निजगढ नगरपालिकाव्दारा स्वास्थ्य सेवासहितको सहायता कक्ष संचालन
निजगढ नगरपालिकाले गढीमाई मेला परिसरमा सहायता कक्ष संचालनमा ल्याएको छ ।
गढीमाईको दर्शन र मेला भर्न जाने भक्तजनहरुको लागि नगरपालिकाले स्वास्थ्य जाँच र उपचार सेवासहित सूचना प्रवाहा र बिश्रामस्थल लगायतको सुविधा उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले बताए । उनका अनुसार नगरपालिकाले गढीमाईको मूल मन्दिरको उत्तरतर्फको खानेपानी ओभर हेड ट्याङ्गकीबाट २ सय ५० मिटर उत्तरतर्फ सहायता कक्ष संचालन गरेको पनि जानकारी दिए ।
सहायता कक्षको लागि सम्पर्क कर्मचारीको जिम्मेवारी सबइन्जिनियर नविन खनाल र नगर प्रहरी हवल्दार लक्ष्मणप्रसाद पराजुलीलाई तोकिएको प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जानकारी दिए ।