बाराको निजगढ नगरपालिका वडा नम्बर १३ पानीसराकी एक बालिकामाथि बलात्कार भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरस्थित आफन्तको घरमा बस्दैआएकी ११ वर्षिय बालिकालाई खानेकुरा किनिदिने भन्दै स्थानीय एक पुरुषले ललाइफकाइ गरी गाउँ नजिकैको खयरघारी जंगलमा लगेर आइतवार बलात्कार गरेको प्रहरीको भनाई छ ।
ती बालिका केही दिनदेखि निजगढ नगरपालिका १३ डम्बरपुरस्थित फुपुको घरमा बस्दैआएकी थिइन । बलात्कार आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर बकैया गाउँपालिका वडा नम्बर २ घरभइ हाल डम्बरपुरमै बस्दैआएका वर्ष ४१ का लालकुमार घलानलाई नियन्त्रणमा लिएको हो । लालकुमारले स्थानीय लालबहादुर गोलेको घरमा मजदुरी गर्दै आएका थिए ।
बालिका बलात्कारमा परेको खबर पाएपछि निजगढ ११ रतनपुरीस्थित अस्थायी प्रहरी पोष्ट र निजगढबाट खटेको प्रहरी टोलीले घलानको खोजतलासको क्रममा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए भने बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले समेत बालिकाको बलात्कार भएको पुष्टि गरे । बलात्कृत बालिकाको अस्पतालबाट स्वास्थ्य अबस्था जाँच गरिसकिएको प्रहरीले बताएको छ ।