
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्गको प्रगति सात वर्षमा ३६.४२ प्रतिशतमा मात्रैमा सीमित भएको छ ।
आयोजना निर्माणको काम चालु आर्थिक वर्ष २०८१÷८२ को त्रैमासिक अर्थात् असोज मसान्तसम्म भौतिक प्रगति ३६.४२ प्रतिशत रहेको नेपाली सेनाका सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिए ।
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८.५५ प्रतिशत छ ।
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापन निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुरुङमार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाइ तीन हजार ३५५ मिटरमध्ये दायाँ टनेल तीन हजार ३२२ मिटरमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेल तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।
प्याकेज नं. २ अन्तर्गत धेद्रे सुरुङमार्गको जम्मा लम्बाइ एक हजार ६९१ मिटरमध्ये बायाँ सुरुङको छ भने निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेल एक हजार ६५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो ।
प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङ निजगढबाट काठमाडौँतर्फ आउने एक हजार ६१२ मिटर लामो सुरुङमार्ग असारमा र काठमाडौँबाट निजगढतर्फ जाने एक हजार ६३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।