निजगढ नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने सडक तथा सार्वजनिक स्थानमा राखिएका निर्माण सामाग्री हटाउन सरोकारवालाहरुसंग आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बिहिबार एउटा सूचना निकालेर नगरपालिकाको क्षेत्राधिकारभित्रका सडक र सार्वजनिक स्थानमा जथाभावी राखिएका निर्माण हटाउन नगरबासीसंग आग्रह गरेको हो ।
सडक र सार्वजनिक स्थानमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीका कारण सडक दुर्घटना जोखिम बढेकोभन्दै स्थानीयबाट गुनासो आएकोले त्यस्ता सामाग्री अबिलम्ब हटाउने व्यवस्था गर्न सूचनामा भनिएको छ ।
पछिल्लो समय निजगढमा केही स्थानीयले आफ्नो घर अगाडिको सडक र सार्वजनिक जमिनमा समेत निर्माण कार्यमा प्रयोग हुने गिटी, बालुवा, ढुङ्गा, ईटा र काठ तथा दाउरा जस्ता सामग्रीहरु राख्ने क्रम बढेको छ ।
नगरपालिकाले जारी गरेको सूचनाको बोधार्थ जिल्ला ट्राफिक कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बेस क्याम्प निजगढलाईसमेत दिइएको प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जानकारी दिए ।




