निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी टेण्डर सिमराको जय गणेश निर्माण सेवाले सकारेको छ ।
मंगलबार सार्वजनिक गरिएको बोलपत्र अनुसार एउटा मात्रै बोलपत्रदाताको रुपमा जय गणेशले नदीजन्य पदार्थको उत्खनन तथा निकासीको ठेक्का हात पारेको हो ।
नगरपालिकाले बकैया, धन्सार, भक्तलाल, लाल, बगरे र शक्ति खोलाबाट १ करोड, ३ लाख, ७६ हजार ३२० घनफिट ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको लागि भदौैं २३ गते टेण्डर आह्वान गरेको थियो ।
इबिडिङ्गमार्फत आह्वान गरिएको बोलपत्र जय गणेशले भ्याट रकमसहित ११ करोड ७९ लाख रुपैयामा सकार गरेको हो ।
निगरपालिकाले निजगढको बकैया, सिगौलको धन्सार, बगरे र रतनपुरको लाल, शक्ति र भक्तलालसमेत गरी ५ वटा नदीबाट गिटी बालुवा र ढुङ्गा उत्खनन र निकासीको ठेक्का लगाउदैआएको छ ।
नगरपालिकाले यसअघि सिंगौलको धन्सार र बगरे खोलमा छुट्टै बोलपत्र आह्वान गरेको भए पनि यसपटक भने नगरभित्रका सबै ५ वटै खोलाबाट एउटै प्याकेजमा बोलपत्र आह्वान गरेको थियो ।



