सिस्नेरी पहिरोमा परेर निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई आठ–आठ लाख रुपैयाँ आर्थिक सहायता दिने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णय पीडित परिवारले अस्वीकार गरेका छन्।

पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरका अनुपम घलान र बाराका विकल रेग्मीको परिवारले एन्फाले दिने आर्थिक सहायता लिन अस्वीकार गरेको हो। परिवारले पैसा नभई न्याय चाहिएको बताएको छ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईसहितका पदाधिकारी मंगलबार अनुपम र विकलको परिवारलाई भेट्न बेग्लाबेग्लै समयमा पुगेका थिए। मकवानपुरमा अनुपमको परिवारलाई भेटेपछि एन्फाका पदाधिकारी आर्थिक सहायता प्रदान गर्न बाराको निजगढ नगरपालिका–८ स्थित विकलको घर पुगेका थिए।

त्यस क्रममा विकलकी आमा कमला रेग्मीले प्रशिक्षणरत छोराको मृत्युको कारण एन्फा र प्रशिक्षणका निम्ति छनोट गरिएको स्कुलका पदाधिकारी रहेको भन्दै विकलले न्याय नपाउँदासम्म कुनै किसिमको सहयोग स्वीकार नगर्ने बताइन्।

‘स्कुलमा रहेका शिक्षक र एन्फाको लापरबाहीका कारण विकलसहित ६ जना प्रशिक्षणरत खेलाडीको मृत्यु भयो, मैले दाउरा बेचेर हुर्काएको छोराको राम्रो भविष्यका निम्ति एन्फाको जिम्मा लगाएको थिएँ,’ उनले भनिन्, ‘तर, एन्फा खोलाडीमाथि संवेदनशील नहुँदा यो घटना भएको हो। त्यसैले, सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म र विकलले न्याय नपाउँदासम्म हामी कुनै सहयोग लिँदैनौँ।’

मृतक परिवारले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित वाल्सत्यदेवी माविमा रहेको एन्फा एकेडेमीमा प्रशिक्षणरत खोलाडीहरूलाई दुःख र यातना दिने गरेको गुनासोसमेत गरेका थिए। उनीहरूले एन्फाले निःशुल्क प्रशिक्षण दिने भनिए पनि एकेडेमीले मासिक रूपमा पैसा लिने गरेको एन्फाका पदाधिकारीलाई बताए।

आफ्नो छोरालाई दिइएको यातनाको प्रमाण रहेको हुँदा एन्फाले न्याय नदिए कानुनी उपचारका निम्ति अदालत जाने चेतावनीसमेत विकलको परिवारले दिएको छ।

एन्फा महासचिव किरण राईले प्रशिक्षणरत खेलाडी रहेको स्कुलले समयमै ठोस कदम नचाल्दा घटना हुन पुगेको परिवारमाझ बताए। उनले भने, ‘त्यहाँ बाढीपहिरोको जोखिम रहेको थाहा पाउनेबित्तिकै मैले घटनाको अघिल्लो दिन नै वाल्सत्यदेवी माविका शिक्षक सुवास चन्द्रलाई विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको थिएँ, तर बाहिर भएको हल्लाजस्तो छैन भन्ने जवाफ आयो। विकलसहित सबैलाई देशको छोरा बनाउने हाम्रो चाहना थियो, तर दुःखद घटना हुन पुग्यो।’

परिवारले भनेझैँ वेलामै होस् नपुर्याउनु एन्फाको गल्ती भएको स्वीकार गर्दै महासचिव राईलगायतले परिवारको अनुमतिमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

एन्फाको छनोटमा नाम निकालेका २५ प्रशिक्षणरत खेलाडीमध्ये ११ जनाले पठनपाठन र हेरचार राम्रो नभएको भन्दै त्यसअघि नै एकेडेमी छाडेका थिए। त्यसपछि एन्फाले वैकल्पिक सूचीमा रहेका खेलाडीलाई भर्ना गरेको थियो। त्यस्तै वाल्सत्यदेवी माविले दशजनालाई सःशुल्क भर्ना गरेकोसमेत सूचना प्राप्त भएको एन्फाले जनाएको छ।

विकलको परिवारसँग एन्फा पदाधिकारीको भेट हुँदा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, एन्फा मधेश प्रदेशका अध्यक्ष नेपाल कार्की, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, जिल्ला फुटबल संघ बाराका पदाधिकारीलगायत स्थानीयको उपस्थिति थियो।

२० असोजमा बसेको एन्फाको आपतकालीन बैठकले पीडित प्रत्येक परिवारलाई आठ–आठ लाख रुपैयाँ आर्थिक राहत प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय